धरान:  धरान नागरिक दबाब सञ्जालले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मंगलबार संयुक्त संघर्ष समितिसँगको वार्ताको क्रममा भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 

सञ्जालका संयोजक राजेन्द्र शर्मा र सदस्य सचिव कमल तिगेलाले विज्ञप्ती जारी गर्दै उक्त घटनाप्रति ध्यानाकर्षण भएको जनाएको हो । समस्या समाधानका लागि वार्तामा बोलाउनु सह्रानीय काम भए पनि कार्यालय समयमै मादक पदार्थ सेवन गरेर संस्थाका जिम्मेवार पदाधिकारीहरु वार्तामा आउनु अति नै गम्भीर एवम् अक्ष्यम्य अपराध भएको विज्ञप्तीमा उल्लेख  छ ।

उपकुलपतिलाई मातिएको हालतमा वार्तामा प्रस्तुत गर्ने अन्य पदाधिकारीहरु पनि सोही दर्जाका अपराधी भएको दबाब सञ्जालले ठहर गरेको विज्ञप्तीमा जनाइएको छ । 'मादक पदार्थ सेवन गर्नेले जुन दर्जाको अपराध गरेको छ¸ उसलाई मातिएको हालतमा वार्तामा प्रस्तुत गरेर नङ्याउने चेष्टा र षडयन्त्रमा सामेल अरु पदाधिकारीहरु समेत सोही दर्जाका अपराधी हुन् भन्ने हामीले ठहर गरेका छौँ ,' विज्ञप्तीमा भनिएको छ, 'पदाधिकारीहरुको यस्तो स्तरबिहीन प्रस्तुति र बदनियत पूर्ण हर्कतको हामी घोर भर्त्सना गर्दछौँ ।'

प्रतिष्ठानलाई आफ्नो प्राण सरह माया गर्ने, हितैषी र प्रतिष्ठान प्रेमी सेवाग्राहीहरुले ठूलो सतर्कता र संयम अपनाउने बेला आएको भन्दै दबाब सञ्जालले भ्रष्टाचारको जालोलाई चिर्न र गुम्दै गरेको यस प्रतिष्ठानको ख्यातिलाई पुनरुत्थान गर्न एकजुट हुने बेला आएको पनि जनाएको छ । दबाब सञ्जालले प्रतिष्ठानमा भएका समस्याहरुको तत्काल निराकरणका उपायहरुको खोजी गर्न र यसको गरिमालाई पुनःस्थापित गर्न एक अधिकार सम्पन्न उच्च स्तरीय छानबिन आयोग गठनको पनि जोडदार माग गरेको छ ।

'छानबिनबाट प्रमाणित भएका दोषीहरु उपर हदैसम्मको कारबाहीको पनि हामी जोडदार माग गर्दछौँ । हिजोको परिस्थितिका कारण नयाँ मोडमा पुगेको संयुक्त संघर्ष समितिले उठाएका प्रतिष्ठान सुधारका जायज एवम् पेशागत मागहरुको तत्काल सम्बोधन गरी हाल उत्पन्न गतिरोध अन्त्यका लागि पहल गर्न समेत हामी सरकारसंग जोडदार माग गर्दछौँ,' विज्ञप्तीमा भनिएको छ ।