धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आन्दोलनरत संयुक्त संघर्ष समितिले अतिरिक्त जिम्मेवारीमा रहेका चिकित्सक, नर्स तथा कर्मचारीहरुलाई राजिनामा दिन आह्वान गरेको छ । 

संघर्ष समितिले शुक्रबार अतिरिक्त जिम्मेवारीमा रहेकाहरुलाई राजिनामा गर्न र आन्दोलनमा सहभागी हुन आह्वान गरेको हो । प्रतिष्ठानको अतिरिक्त जिम्मेवारीमा रहेका विभागीय प्रमुख, उपनिर्देशक, सहनिर्देशक, डिन, सहायक डिन, शाखा प्रमुख, नर्सिङ अफिसरहरुलाई चार जना पदाधिकारीलाई असहयोग गर्न राजिनामा दिन र आन्दोलनमा आउन आह्वान गरिएको संघर्ष समितिका सहसंयोजक डा.विष्णु पोखरेलले बताए । उनले भने,‘संस्था धरासायी बनाउने, बौद्धिक जगतलाई वद्नाम गराउने चारै जना पदाधिकारीलाई असहयोग गर्नको लागि अतिरिक्त पद, जिम्मेवारीमा रहनु भएकाहरुलाई राजिनामा गर्न र आन्दोलनमा आउन आह्वान गरेका छौं ।’

डा.पोखरेलका अनुसार आइतबार सबैको सहभागितामा वृहत विरोध र्याली निकालिनेछ । यस्तै, विभिन्न ठाउँमा रहेका पुर्वविद्यार्थीहरु पनि प्रतिष्ठानलाई बचाउनको लागि आउने उनले बताए । असार १५ गते वार्तामा बोलाएपछि उपकुलपति डा.ज्ञानेन्द्र गिरी मदिरा पिएको असामान्य अवस्थामा आएको भन्दै संघर्ष समितिले वार्ता बहिष्कार गरेपछि भाँडिएको थियो । 

bp-andolan1

भोलीपल्ट चारै जना पदाधिकारीको कार्यकक्षमा तालाबन्दी गर्दै संघर्ष समितिले एक हप्ताभित्र राजिनामा गर्न वा बर्खास्तको माग गर्दै प्रधानमन्त्री वा स्वास्थ्यमन्त्रीले गठन गरेको उच्चस्तरीय समितिसँग मात्र वार्ता गर्ने घोषणा गरेको छ । एक साताभित्र माग सम्बोधन नगरिए सामुहिक राजिनामा दिने र प्रधानमन्त्री कार्यालय घेराउ गर्न काठमाण्डौं जाने संघर्ष समितिको भनाई छ ।

उपकुलपति डा.गिरीले आफुले वार्ताको बेला मदिरा सेवन नगरेको दाबी गर्दै शिक्षक, कर्मचारी र विद्यार्थीहरुलाई वार्तामा आउन अपिल गरेका थिए । तर, संघर्ष समितिले पुर्वघोषणा अनुसार नै पदाधिकारीहरुसँग वार्तामा नबस्ने जुनियर रेसिडेन्ट वेल्फेयर सोसाइटीका उपाध्यक्ष डा.पदम नेपालीले बताए । उनले भने,‘यहाँका पदाधिकारीसँग वार्ताबाट निकास निस्कदैन, त्यसैले वार्ताको आह्वान भएपनि हामी वार्तामा बस्दैनौं । प्रधानमन्त्री वा मन्त्रीस्तरबाट गठन भएको समितिसँग मात्र वार्ता हुन्छ ।’