धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति प्रा.डा.ज्ञानेन्द्र गिरीले आन्दोलनरत संषर्घ समितिसँगको वार्तामा आफु मादक पदार्थ सेवन गरेर नआएको बताएका छन् ।

सञ्चारमाध्यममा मादक पदार्थ सेवन गरेको भनेर प्रकाशित समाचारहरुबारे हिजो बुधबार राती करिब ११ बजे ध्यानाकर्षण विज्ञप्ती जारी गर्दै उपकुलपति डा.गिरीले आफुले मादक पदार्थ सेवन नगरेको बताएका हुन् । उनले आफुबारे प्रकाशित समाचारहरुबारे ध्यानाकर्षण भएको पनि जनाएका छन् । उपकुलपति गिरीले वार्ताको क्रममा एकअर्काको धारणा अभिव्यक्त गर्ने क्रममा संघर्ष समितिले आफ्नो धारणा राखे पश्चात प्रतिष्ठानकोतर्फबाट विचार राख्ने क्रममा तत्कालिन परिस्थितिमा वार्ता अनुकुल वातावरण नभएको र विना तयारी वार्ता हुन नसक्ने भनि संघर्ष समितिले जानकारी गराएर गएको दाबी गरेका छन् । 

वार्ताको दौरान आफुले कसैलाई कुनै पनि प्रकारको दुव्र्यवहार नगरेको उल्लेख गर्दै उपकुलपति गिरीले आफ्नो व्यक्तिगत चरित्र हत्या गर्ने गरि परिस्थितिको गलत ढंगले व्यख्या गरेर समाचार फैलाएको भन्दै खेद प्रकट गरेका छन् । साथै, प्रतिष्ठानको छविमा आँच पुग्न गएकोमा उनले गम्भीर दुःख पनि व्यक्त गरेका छन् । समस्याको सकरात्मक निकासको निम्ति प्रतिष्ठानकोतर्फबाट औपचारिकरुपमा वार्ताको लागि पहल भइरहेको र वार्ताकै माध्यमबाट छिट्टै परिस्थिति सामान्य हुने पनि उपकुलपति गिरीले विश्वास व्यक्त गरेका छन् । 

आर्थिक, नीतिगत र कोभिड सम्बन्धी विविध कार्यहरुको सन्दर्भमा छलफल एवं सहयोगको लागि विभिन्न सरकारी निकायहरुमा केही दिनदेखि तल्लिन रहेकोले आफु लामो समय काठमाण्डौंमा रहनुपरेको पनि प्रष्ट्याएका छन् । प्रतिष्ठानमा सृर्जित वातावरण सम्हाल्न वार्ता गर्नु भन्दा एक दिन पहिला मात्र धरान आइपुगेको उल्लेख गर्दै उपकुलपति गिरीले दिनभरको यात्रा पश्चात पनि आन्दोलनमा उठेका जायज र निश्वार्थ मागहरु के कसरी द्रुत गतिमा सम्बोधन गर्न सकिन्छ भनेर राती अबेरसम्म र भोलीपल्ट बिहानैदेखि पदाधिकारी एवं प्रतिष्ठानका अन्य सरोकारवालाहरुसँग निरन्तर संवादमा रहेको जनाएका छन् । सोही कारण आफु भौतिक र मानिसक चिन्ताले शारीरिक अवस्था कमजोर रहेको भएको महशुस गरिरहे पनि वार्तामा बसेको खुलाएका छन् ।

dhyan