धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको आन्दोलनरत पक्ष संयुक्त संघर्ष समितिसँग वार्ता भाँडिएको ३ दिन बितेको छ । यो बीचमा उपकुलपति प्रा.डा.ज्ञानेन्द्र गिरीले वार्ताको औपचारिक आह्वान गरिसकेका छन्, तर बन्द भएको वार्ताको ढोका भने खुलेको छैन ।

संघर्ष समितिले प्रतिष्ठानको पदाधिकारीहरुसँग वार्ता नगर्ने अडान राखेको छ । आन्दोलनरत पक्षसँग वार्ता हुन नसके पनि उपकुलपतिसहित पदाधिकारीहरुले विभागीय प्रमुख, शाखा र महाशाखा प्रमुखहरुसँग दुई दिनयता निरन्तर छलफल गरिरहेका छन् । ती छलफलमा उपकुलपित डा.गिरी, रेक्टर प्रा.डा.गुरु खनाल र रजिष्ट्रार प्रा.डा.मोहनचन्द्र रेग्मीले आफुहरु विगतको तिक्तता भुलेर एकजुट भएको सन्देश दिइरहेका छन् । अस्पताल निर्देशक प्रा.डा.गौरीशंकर साह भने कोरोना संक्रमित भएर आइसोलेसनमा छन् । तीन पदाधिकारीहरुले संघर्ष समितिसँग वार्ता शुरु गराउनको लागि पहल गर्न विभागीय प्रमुख, शाखा र महाशाखा प्रमुखहरुलाई आग्रह पनि गरेका छन् ।

वार्ता समितिका संयोजक एवं रेक्टर डा.खनालले आन्दोलनकारी पक्षसँग वार्ता शुरु नभए पनि तीन पदाधिकारीहरुले विभागीय प्रमुख, सिनियर फ्याकल्टी, शाखा र महाशाखा प्रमुखहरुसँग दुई दिनयता निरन्तर छलफल गरिरहेको बताए । आन्दोलनरत पक्षसँग वार्ताको लागि सहजीकरण गर्न आग्रह गरिएको पनि उनले जानकारी दिए । ‘वार्ताको वातावरण बनाउने प्रयास भइरहेको छ । हामीले सबैलाई आफ्नो आफ्नो ठाउँबाट सहजीकरण गरिदिनुस् भन्यौं,’रेक्टर डा.खनालले भने,‘४ जना ४ तिर भएको कुरा पनि उठ्यो । हिजो जे जस्तो भएपनि हामीबाट कमीकमजोरी भएकै छ, सुधार गछौं, सच्चिछौं, संस्थालाई बिगार्न हुदैन भन्यौं ।’ 

तीन पदाधिकारीहरुले हिजो बिहिबार प्रतिष्ठानको सबै विभागीय प्रमुखहरुसँग छलफल गरेको थियो भने शुक्रबार बिहान सिनियर फ्याकल्टीहरुसँग छलफल गरेका थिए । यस्तै, शुक्रबार दिउँसो प्रतिष्ठानका विभिन्न शाखा, महाशाखाहरुसँग छलफल गरेका थिए । कर्मचारी कल्याण समाजका कार्यवाहक अध्यक्ष उमेश थापाले पदाधिकारीहरु एकजुट भएर संस्थाको हितमा लाग्न आग्रह गरिएको बताए ।

पदाधिकारीहरुले नै गोप्य कागजपत्र अख्तियारमा पुर्याइरहेको र कर्मचारीहरु जोखिम मोलेर किन काम गर्ने ? भन्ने मानस्थितिमा पुगेको कुरा पनि राखेको उनले जानकारी दिए । ‘उहाँहरुले गल्ती कमीकमजोरी भएको हुनसक्छ, अब हामी पनि सुध्रन्छौं, अब एकढिक्का भएर लाग्छौं, काम गर्ने वातावरण बनाउछौं, भन्नुभयो,’थापाले भने,‘हामीले तपाईहरुले भनेको कुरा कार्यान्वयन गर्नुपर्छ, व्यहावरमै उतार्नुपर्छ । छिटो वार्ता गरेर तपाईहरुबाटै समस्या समाधान हुन्छ भन्ने विश्वास दिलाउनुपर्छ भन्यौं ।’