धरान: कोरोना संक्रमणबाट धरानका २ जना वृद्धको मृत्यु भएको छ ।
धरान १८ र ८ का दुई वृद्धको मृत्यु भएको हो । उनीहरुको उपचारको क्रममा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा मृत्यु भएको हो । प्रतिष्ठानका अनुसार वडा नं १८ का ७९ बर्षीय वृद्धको गए राती साढे १० बजे कोभिड अस्पतालमा मृत्यु भएको हो । उच्च रक्तचाप र मधुमेहका विरामी रहेका उनलाई असार १४ गते संक्रमण पुष्टि भएको थियो भने १६ गते कोभिड अस्पताल भर्ना गरिएको थियो ।
यसैंगरि, धरान ८ का ८४ बर्षीय वृद्धको पनि कोभिड अस्पतालमा मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा.चुडामणी पोखरलले जानकारी दिए । उनका अनुसार ती वृद्धको राती ११ बजेर ४० मिनेटमा मृत्यु भएको हो । उनलाई पनि उच्च रक्तचाप र मधुमेहको दीर्घ रोग रहेको थियो । उनलाई पनि असार १४ गते संक्रमण पुष्टि भएको थियो भने १७ गते कोभिड अस्पतालमा भर्ना गरिएको प्रतिष्ठानले जनाएको छ । मृतक दुवैको शव नियम अनुसार व्यवस्थापन भइरहेको प्रतिष्ठानले जनाएको छ ।