धरान: कोरोना संक्रमणबाट नेकपा माओवादी केन्द्र धरान वडा नं १५ कमिटीका सचिव टिका पाख्रिनको निधन भएको छ ।

संक्रमण पुष्टि भएपश्चात वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत पाख्रिनको गए राती करिब १२ बजे निधन भएको थियो । उनको शव सेउती खोलास्थित मुक्तिघाटमा मापदण्ड अपनाउदै केही समयअघि अन्त्येष्टी भइसकेको छ । मृतक पाख्रिन राजनीतिसँगै सामाजिक क्षेत्रका अगुवा व्यक्तित्व पनि थिए ।

मृतक बाँझगरा सामुदायिक वन उपभोक्ता समुहका पुर्वअध्यक्ष पनि हुन् । उनी हाल वन समुहको सल्लाहकार समितिका सदस्य पनि रहेका थिए । यस्तै, विशाल मार्ग टोल विकास संस्थाको अध्यक्ष, धरान १५ श्यामचोकस्थित गुम्बाको उपाध्यक्ष र धरान १५ बाल उद्यान निर्माण उपभोक्ता समितिको अध्यक्ष पनि थिए । 

बाँझगरा वन समुहका अध्यक्ष राजन मोक्तानका अनुसार पाख्रिन २२ दिनअघि संक्रमण देखिएको थियो । घरमा रहदा नै उनलाई निमोनिया भएको र प्रतिष्ठानमा भर्ना गरिएको मोक्तानले जानकारी दिए । अन्त्येष्टी अघि मृतक पाख्रिनको शवलाई नेकपा माओवादी केन्द्रका नेताहरुले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली दिएका थिए भने बाँझगरा वन समुहले पनि समुहको झण्डा ओढाएको अध्यक्ष मोक्तानले जानकारी दिए ।

tika1