धरान: गत जेठ अन्तिम साता कोरोनाविरुद्धको खोप भेरो सेलको पहिलो मात्रा लगाएकाहरुलाई धरानमा असार २२ र २३ गते (भोली र पर्सि ) दोस्रो मात्रा खोप लगाइने भएको छ ।

धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाले आज पत्रकार सम्मेलन गर्दै असार २२ र २३ गते दुई दिन भेरो सेलको दोस्रो मात्रा लगाउने जानकारी दिएको हो । महाशाखा प्रमुख उमेश मेहताका अनुसार धरानको ३ वटा स्थानमा खोप केन्द्र तोकिएको छ । धरानको छाताचोकस्थित पुरानो अस्पतालमा रहेको स्वास्थ्य चौकी, धरान १५ स्थित श्याम चोक सेवा समाजको भवन र धरान १८ स्थित कार्मेल हाईस्कुलमा खोप केन्द्र रहनेछन् । 

बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म सञ्चालन हुने खोप अभियानमा यसअघि जेठ २५, २६ र २७ गते भेरो सेलको पहिलो मात्रा लगाएकाहरुलाई मात्र दोस्रो मात्रा खोप दिइने स्वास्थ्य महाशाखा प्रमुख मेहताले जानकारी दिए । यसअघि ६० बर्षदेखि ६४ बर्ष उमेर समुहकालाई भेरो सेलको पहिलो मात्रा लगाइएको थियो भने अन्य लक्षित समुहलाई पनि दिइएको थियो । यसपाली ज्येष्ठ नागरिकहरुलाई सहज बनाउन अलग्गै लाइनको व्यवस्था गरिनेछ । ज्येष्ठ नागरिक २ जना बराबर मात्र अर्को लक्षित समुहका १ जनालाई खोप लगाउने व्यवस्था हुनेछ । 

vero1

स्वास्थ्य महशाखाका अनुसार धरानमा यसअघि खोप अभियानको क्रममा २१४४ जनाले भेरो सेलका पहिलो मात्रा लगाएका थिए । त्यसबाहेक थप २ सयलाई पनि खोप दिइएको थियो । यसपाली भने २१४४ जनालाई मात्र दोस्रो मात्रा लगाइने उनले प्रष्ट पारे । पछि लगाइएका २ सय जनालाई केही समय पछि दोस्रो मात्रा लगाउने उनले बताए । ‘यसअघि जेठ २५ देखि २७ गतेसम्म जस्ले जुन खोप केन्द्रमा पहिलो मात्रा लगाएका थिए, उहाँहरुले त्यही जानुपर्छ । इटहरीमा लगाएकाले धरानमा लगाउछुँ भनेर पाइन्न, खोप लगाउन जादा कार्ड अनिवार्य लिएर जानुपर्छ,’मेहताले भने । उनले यसअघि कोभिसिल्डको पहिलो मात्रा लगाएकाहरुलाई पनि सरकारले चाडै दोस्रो खोपको व्यवस्था गर्ने पनि जानकारी दिए ।

स्वास्थ्य कार्यालय सुनसरीका कोल्ड चेन निरीक्षक अधिकृत तारकेश्वर सिंहले सुनसरीमा यसअघि १३ हजार २ सय ३१ जनाले भेरो सेलको पहिलो मात्रा लगाएका थिए । असार २२ र २३ गते ती मध्ये ५ हजार ७ सय २० जनालाई दोस्रो मात्रा लगाइदैछ । बाकीलाई अर्को चरणमा लगाइने उनले बताए । उनका अनुसार भेरो सेलको दोस्रो मात्रा लगाएपछि खोप लगाएको ओरजिनल कार्ड पनि दिइनेछ । ‘त्यो ओरजिनल कार्डले विदेश यात्रा गर्नको लागि उपयोगी हुनेछ,’उनले भने । 

भिडियो :