धरान: सुनसरीमा असार २३ गते बुधबारदेखि जोर विजोर प्रणालीमा सार्वजनिक यातायातसमेत सञ्चालनमा आउने भएको छ । 

असार ३१ गते मध्यराती १२ बजेसम्मको लागि प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जारी गरेको आदेशमा निजी तथा सबै प्रकारको सार्वजनिक सवारीसाधानहरु जोर विजोर प्रणालीमा चल्ने उल्लेख छ । जसअनुसार जोर गते जोर नम्बरको र विजोर गते बिजोर नम्बरको सवारीसाधनहरु मापदण्ड पालना गरेर सञ्चालनमा आउनेछन् । 

प्रशासनका अनुसार कुल स्वीकृत सिटभन्दा बढी यात्रु राख्न पाइने छैन भने सबै यात्रुहरुले अनिवार्य मास्क लगाउनुपर्नेछ । चालक र सहचालकले अनिवार्य मास्क, भाइजर र पञ्जा लगाउनुपर्नेछ । सवारीसाधनको ढोकामा स्यानिटाइजरको व्यवस्था, सवारीसाधनलाई दैनिकरुपमा अनिवार्य निसंक्रमित गर्नुपर्ने पनि मापदण्ड पालना गर्नुपर्नेछ । 

औषधी र स्वास्थ्य सामग्री पसल, इन्धन व्यवसाय, खाद्यान्न, तरकारी, फलफुल, डेरी, मासुजन्य तथा बिउबिजन बिक्री गर्ने पसलहरु दिनै भरि सञ्चालन गर्न पाइनेछ भने ती बाहेकका पसल, डिपार्टमेन्ट स्टोरसमेत बिहान ८ बजेदेखि बेलुकी ६ बजेसम्म मात्र सञ्चालन गर्न पाइनेछ । यात्रुहरुको सुविधको लागि राजमार्ग छेउछाउका होटल तथा रेष्टुरेष्टहरु बिहान ८ बजेदेखि बेलुकी ७ बजेसम्म सञ्चालन गर्न पाइनेछ । 

भारतीय नाकाहरुबाट आवातजावत पुर्णरुपमा निषेध गरिएको छ भने कुनै पनि स्थानमा भेला, जुलुस, सम्मेलन, हाट, मेला, यात्रा, महोत्सव, पार्टी, भोजलगायत भिडभाड हुने कार्यलाई पनि निषेध गरिएको छ ।

cdo-ades

cdo-ades1