धरानः धरान वडा नं. ५ मा रहेको खैरेनी कृषि समुहलाई विषादी छर्ने स्प्रे ट्याङ्की र एग्रोनेट प्रदान गरिएको छ । 

सोमबार धरान उपमहानगरपालिका परिसरमा संघीय सरकारको सशर्त अनुदान अन्र्तगत कृषि समुहलाई १० थान विषादी छर्ने स्प्रे ट्याङ्की र ४ थान एग्रोनेट (तरकारीजन्य खेती लगाएको ठाउँको लागि उपयोगी बार) प्रदान गरिएको हो । उक्त सामग्री मेयर तिलक राई र उपमेयर मञ्जु भण्डारीले हस्तान्तरण गरेका थिए ।

मेयर राईले कृषि पेशाप्रती आकर्षण बढ्दै गएको बताउँदै स्प्रे ट्याङ्की र एग्रोनेटको सहि ढंगबाट सदुपयोग गर्न आग्रह गरे । उनले उक्त सामग्री एकलौटी नभई समुह अर्थात छरछिमेकमा बाँडेर चलाउन पनि सुझाव दिए।

धरान उपमहानगरका कृषि शाखा अधिकृत नगेन्द्र तामाङले संघीय सरकारको सशर्त अनुदान अन्र्तगत कृषि शाखामा ९ लाख रुपैयाँ बजेट आएको जानकारी दिए । सोही बजेट अन्र्तगत धरान ५ मा रहेको खैरेनी कृषि समुहलाई १ लाख ६० हजार रुपैयाँ बराबरको सामग्री हस्तान्तरण गरिएको अधिकृत तामाङले बताए ।

अन्नबालीमा लाग्ने रोग र कीरा मार्न प्रयोग गरिने जैविक विषादी छर्न स्प्रे ट्याङ्की र किसानहरुले लगाएको तरकारी खेतीका लागि एग्रोनेटले ठुलो मद्दत गर्ने अधिकृत तामाङको भनाई छ । खैरेनी कृषि समुहमा ४८ जना छन् । कृषि समुहका किसानहरुले उक्त सामग्री पाएपछि खुशी व्यक्त गरेका थिए ।