धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आन्दोलनरत संयुक्त संघर्ष समितिको माग अनुसार स्वास्थ्य मन्त्रालयको प्रतिनिधिसहित एक टोली आउने भएको छ ।
टोलीमा को को छन् भन्ने खुलिसकेको छैन । तर, प्रतिष्ठानको गतिरोध अन्त्य गराएर वार्ता शुरु गराउन टोली आउने भएको हो । सोमबार दिउँसो प्रतिषठनका पदाधिकारी र धरान नागरिक दबाब सञ्जालबीच छलफल भइरहेको बेला मन्त्रालयको टोली धरान आउन लागेको जानकारी आएको थियो । वार्तामा सहभागी दबाब सञ्जालका संयोजक राजेन्द्र शर्माका अनुसार छलफल चलिरहदा नै उपकुलपति डा.ज्ञानेन्द्र गिरीलाई मन्त्रालयबाट फोन आएको थियो । ‘हामीसँग छलफल भइरहदा नै उपकुलपतिलाई फोनमा मन्त्रालयको टोली आउदैछ भन्ने जानकारी आयो, उपकुलपतिले त्यो खबर हामीलाई पनि सुनाउनु भयो,’ शर्माले भने ।
अब प्रतिष्ठानमा आन्दोलनरत पक्षसँग मन्त्रालयको टोलीको रोहबरमा नै वार्ता हुने र अहिलेको गतिरोध अन्त्य हुने शर्माले अपेक्षा व्यक्त गरे । उनले भने,‘मन्त्रालयको टोली फ्लाइट मिल्यो भने आजै नत्र भोलीसम्म आइपुग्छ । एक दुई दिनभित्रै वार्ता भएर सकरात्मक परिणाम आउछ भन्ने संकेत मिलेको छ ।’
प्रतिष्ठानले गठन गरेको वार्ता टोलीका संयोजक एवं रेक्टर प्रा.डा.गुरुप्रसाद खनालले पनि मन्त्रालयबाट एक टोली आउन लागेको जानकारी उपकुलपतिमार्फत पाएको बताए । ‘हामी त जुनसुकै बेला पनि वार्ता गर्न रेडी छौं, तर आन्दोलनरत पक्षले हामीसँग वार्ता नगर्ने भनेकोले भएको छैन,’उनले भने,‘उपकुलपतिबाटै आज माथिबाट टोली आउदैछ भन्ने जानकारी पायौं, टोली आज भोली नै आइपुग्छ ।’
वीपी प्रतिष्ठानको आर्थिक अनियमितताबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ध्यानाकर्षण गराएका डाक्टर विष्णु पोखरेललाई उपकुलपतिले स्पष्टीकरण सोधेपछि प्रतिष्ठानमा आन्दोलन शुरु भएको थियो । चिकित्सक, विद्यार्थी, कर्मचारी र नर्सिङले संयुक्त संघर्ष समितिमार्फत आन्दोलन चर्काएका छन् ।
समितिसँग वार्ताको क्रममा असार १५ गते उपकुलपति गिरी मदिरा पिएको अवस्थामा आएको भन्दै वार्ता भाँडिए पछि आन्दोलन थप चर्किएको थियो । संघर्ष समितिले चारै जना पदाधिकारीको कार्यकक्षमा तालाबन्दी गर्दै राजिनामा मागेका छन् भने राजनीतिक नियुक्ती बन्द गरेर विज्ञ समुहको सिफरिशको आधारमा पदाधिकारी नियुक्ती गर्नुपर्ने, प्रधानमन्त्री वा मन्त्रालयले पठाएको उच्चस्तरीय टोलीसँग मात्र वार्ता गर्नेलगायत माग अघि सारेको थियो । त्यसयता संघर्ष समिति र पदाधिकारीहरुबीच वार्ता हुन सकेको छैन ।