धरान: गत जेठ अन्तिम साता कोरोनाविरुद्धको खोप भेरो सेलको पहिलो मात्रा लगाएकाहरुलाई दोस्रो मात्रा खोप लगाउन शुरु भएको छ ।
धरानको तीन स्थानमा तोकिएको खोप केन्द्रमा दोस्रो मात्रा लगाउन शुरु भएको हो । खोप अभियान अन्तर्गत आज र भोली देशभर भेरो सेल खोपको पहिलो मात्रा लगाएकाहरुलार्य दोस्रो मात्रा दिइदैछ । धरानमा छाताचोकस्थित पुरानो अस्पतालमा रहेको स्वास्थ्य चौकी, धरान १५ स्थित श्याम चोक सेवा समाजको भवन र धरान १८ स्थित कार्मेल हाईस्कुलमा रहेको खोप केन्द्रमा दोस्रो मात्रा लगाइदैछ ।
बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म खोप लगाइनेछ । यसअघि जेठ २५, २६ र २७ गते भेरो सेलको पहिलो मात्रा लगाएकाहरुलाई मात्र दोस्रो मात्रा खोप दिइने स्वास्थ्य महाशाखा प्रमुख मेहताले जानकारी दिए । यसअघि ६० बर्षदेखि ६४ बर्ष उमेर समुहकालाई भेरो सेलको पहिलो मात्रा लगाइएको थियो भने अन्य लक्षित समुहलाई पनि दिइएको थियो । यसपाली ज्येष्ठ नागरिकहरुलाई सहज बनाउन अलग्गै लाइनको व्यवस्था गरिएको छ । धरानमा यसअघि भेरो सेलको पहिलो मात्रा २१४४ जनाले लगाएका थिए । उनीहरुलाई नै दोस्रो मात्रा लगाइनेछ ।