धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य मन्त्रालयका प्रतिनिधिहरु आएपनि आन्दोलनरत पक्ष र पदाधिकारीहरुबीच वार्ता हुन सकेको छैन ।
दुवै पक्षबीच समन्वयकारी भुमिका खेलेर वार्ता गराउन डा.रोशन पोखरेल र डा.मदन उपाध्याय हिजो साँझ प्रतिष्ठान आएका थिए । उनीहरु आएपछि आन्दोलनरत पक्ष र पदाधिकारीहरुसँग छलफल गरेपनि संयुक्त संघर्ष समितिले आफ्ना अडानबाट पछि नहटे पछि वार्ता हुन नसकेको हो । संघर्ष समितिले आज एक विज्ञप्ती जारी गर्दै मन्त्रालयका प्रतिनिधिहरुसँगको छलफल सकरात्मकरुपमा लिएपनि औपचारिक वार्ता नमानेको प्रष्ट पारेको छ ।
आन्दोलनरत पक्षले उच्चस्तरीय वार्ता टोली गठन हुनुपर्ने र चारै जना पदाधिकारीहरुले राजिनामा दिनुपर्ने अडान दोहोर्याएको छ । समितिले उठाएको १२ बुँदे मागहरु सम्बोधन हुने गरि प्रधानमन्त्री एवं उपकुलपतिको अग्रसरतामा अधिकार सम्पन्न, उच्चस्तरीय वार्ता टोली अबिलम्ब गठन गरिनुपर्ने मागलाई पुनः विज्ञप्तीमार्फत दोहोर्याएको छ । यस्तै, असार १५ गतेको वार्तास्थलमा मदिरा पिएको घटना दुर्भाग्यपुर्ण भएको भन्दै चारै जना पदाधिकारीहरुले राजिनामा दिएर मार्ग प्रशस्त गर्नु प्रस्थान बिन्दु रहेको संघर्ष समितिले प्रष्ट पारेको छ । उक्त घटनालाई छानबिन गरेर दोषीलाई कारबाही प्रक्रिया अघि बढाउन पनि समितिले माग गरेको छ ।
नेपालको कुनै पनि स्वास्थ्य एवं शैक्षिक संस्थाहरुमा पदाधिकारीहरुको नियुक्ती मापदण्ड सार्वजनिक गर्ने, नियुक्त पदाधिकारीहरु कुन मापदण्ड र के के प्रतिज्ञा गरि छनौट गरिएको हो, सो कुरा छनौट हुनासाथ सार्वजनिक गर्ने व्यवस्था तत्काल गरेर प्रत्येक ६ महिनामा सुपरीवेक्षण गर्ने र सार्वजनिक गर्नुपर्ने पनि माग संघर्ष समितिको छ ।