धरान ः वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आन्दोलनरत संयुक्त संघर्ष समितिले स्वास्थ्य मन्त्रालयबाट आएको टोलीको मध्यस्थतामा पनि पदाधिकारीसँग वार्ता गर्न अस्वीकार गरेको छ । 

मन्त्रालयबाट आएका डा.रोशन पोखरेल र डा.मदन उपाध्यायसँग सोमबार साँझ भेटवार्ता गर्दै संघर्ष समितिले मध्यस्थता टोली आफुहरुको माग नभएको प्रष्ट पारेको थियो । समितिले अधिकार सम्पन्न वार्ता टोली वा आयोग आफुहरुको माग भएको भन्दै यहाँका पदाधिकारीहरुसँग वार्तामा नबस्ने अडान मन्त्रालयको टोलीसमक्ष पनि राखेको छ । ‘उहाँहरु वार्ता गर्न आएको होइन रहेछ, मध्यस्थता गर्न आउनु भएको रहेछ । हामीले यहाँका पदाधिकारीसँग वार्ता गर्दैनौं, अधिकार सम्पन्न आयोग वा वार्ता समिति चाहिन्छ, मध्यस्थता होइन भन्यौं,’संयुक्त संघर्ष समितिका सहसंयोजक डा.विष्णु पोखरेलले भने ।

संघर्ष समितिसँग छलफलमा बसेपछि मन्त्रालयको टोली पदाधिकारीलाई भेट्न गएको थियो । करिब साढे ६ बजे संघर्ष समितिलाई भेट्न पुगेको टोलीले डेढ घण्टा जति आन्दोलनकारीको कुरा सुनेको थियो । जुनियर रेसिडेन्ट वेल्फेयर सोसाइटीका उपाध्यक्ष डा.पदम नेपालीले पनि समन्वय गरेर पदाधिकारीहरुसँग वार्ता गराउन मन्त्रालयको टोली आएकोले समस्या समाधान हुने छाँट नदेखिएको बताए । ‘टोली आयो, राम्रो हो । तर हाम्रो माग अनुसारको होइन रहेछ,’उनले भने । 

छलफलको क्रममा मन्त्रालयको टोलीलाई पदाधिकारीहरुसँग वार्तामा नबस्ने भन्दै उनीहरुको बर्हिगमन हुनुपर्ने धारणा राखेका थिए । अनुसन्धानको दायरामा ल्याएर पदमुक्त गर्न वा निलम्बन गर्नुपर्ने कुरा राखेको डा.नेपालीले जानकारी दिए । ‘यहाँको संस्थागत भ्रष्टचार, अनियमिताहरु छानबिन गर्ने गरि आउनुपर्ने हो, तर होइन रहेछ,’उनले भने,‘हामीले यहाँको समस्या, विरामीको समस्या, संस्थागत भ्रष्टचार, पदाधिकारीहरुको अक्षमता, मदिरा काण्ड सबै कुराहरु राख्यौं । भ्रष्टचारलाई रोक्न नयाँ सिस्टम बन्नुपर्छ, र मन्त्रालयले कसरी पहल गर्नुहुन्छ, भनेर पनि भन्यौं ।’