धरान: धरान उपमहानगरपालिकाको वडा नं २० (साविक विष्णुपादुका गाविस) मा रैथाने धान भड्डु उत्पादन हुने गर्छ । तर पछिल्लो समयमा यो धान खेती घट्दै गएको छ । 

उक्त भड्डु धानलाई उपमहानगरपालिकाले भने संरक्षण गर्ने र खेती गर्न प्रोत्सान गर्ने जनाएको छ । वडा २० स्थित कोकाह बहुउद्देश्यीय कृषि समुहका किसानहरुलाई ८ क्वाईल पाइप हस्तान्तरण गर्दै उपमेयर मञ्जु भण्डारी सुवेदी भनिन्, ‘विष्णुपादुकामा उत्पादन हुने रैथाने धान भड्डुलाई उपमहानगरपालिकाले संरक्षण गर्न लागेको छ ।’ उपमहानगरका अनुसार विष्णुपादुकामा २० हेक्टर जमिनमा स्थानीय रैथाने भड्डु धान रोप्ने गरिएको छ ।

कृषि शाखा अधिकृत नगेन्द्र तामाङका अनुसार कृषि समुहलाई ४ लाख ८३ हजार रुपैयाँ बराबरको पाईप प्रदान गरिएको हो । संघीय सरकारको सशर्त अनुदानको राष्ट्रिय महत्वको बाली प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना पकेट कार्यक्रम अन्तर्गत किसानलाई पाईप उपलब्ध गराईएको हो । संघीय सरकारबाट सशर्त अनुदान भनेर २० लाख रुपैया बजेट आएको छ । 

राष्ट्रिय महत्वको बाली (रैथाने धान) धान पकेट कार्यक्रम सञ्चालनका लागि यो बजेट आएको उपमहानगरले जनाएको छ । कोकाहा बहुउद्देशिय कृषि समूहमा १६ जना छन् । लाभान्बित घर परिवार संख्या ४० जना छन् ।