सुनसरी: इटहरीस्थित मायाँघरमा आश्रित तीन दर्जनमा कोरोना संक्रमण पुष्टि भएको छ । 

इटहरी उपमहानगरपालिकाले स्वास्थ्य परीक्षण गर्दा आश्रित रहेका ५० जना मध्ये ३६ जनामा संक्रमण पुष्टि भएको हो । इटहरी अस्पतालको ईमर्जेन्सी विभाग प्रमुख तथा कोभिड १९ होम आईसोलेन सर्पोट टिम संयोजक रामकुमार धमलाका अनुसार ३६ सक्रमित मध्ये २८ जनामा सुख्खा खोकी, ज्वरो, वान्ता हुने, खान मन नलाग्ने जस्ता कोभिड १९ का लक्षणहरु देखिएको छ । संक्रमितहरुलाई उपचारमा सहयोग पुग्ने पल्स अक्सिमिटर, माक्स लगायत स्वास्थ्य सामाग्रीहरु वितरण गरिएको उपमेयर लक्ष्मी गौतमले जानकारी दिइन् । सबै संक्रमितलाई इटहरी अस्पतालले स्वास्थ्य निगरानी गरिरहेको छ । 

इटहरी उपमहानगरपालिका स्वास्थ्य शाखा, इटहरी अस्पताल र विश्व स्वास्थ्य संगठन (डव्लु.एच.ओ.)का प्रतिनिधिले संक्रमितस्थल माया घरको अनुगमन निरीक्षण गरेर जनस्वास्थ्य अवस्था मूल्यांकन समेत गरिएको छ । मायाँघरकी सचिव सुभद्रा प्याकुरेलले मायाँ घरमा कोरोना संक्रमण देखिएपछि संक्रमितहरु र संक्रमण नभएकाहरुलाई छुटटा छुटटै ठाँउमा राखेर सावधानी अपनाइएको छ । मायाँ घरमा नयाँ ब्यक्तिहरुलाई ल्याउन भने केही समय बन्द गरिएको उनले जानकारी दिइन् । मायाँघरले वेवारिसे, मानसिक सन्तुलत ठीक नभएका पीडित ब्यक्तिहरुलाई आश्रय दिदै आएको छ ।