धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक एवं संयुक्त संघर्ष समितिका सहसंयोजक डा.विष्णु पोखरेलले बेथितीको जड भ्रष्ट पदाधिकारीहरु र उनीहरुले पाउने कमिशन भएको बताएका छन् ।

संघर्ष समितिको आह्वानमा आइतबार धरानका राजनीतिक दल, नागरिक दबाब समुहसहित निस्केको वृहत र्याली पश्चात आयोजित कोणसभामा डा.पोखरेलले यस्तो बताएका हुन् । प्रतिष्ठान हाताभित्र निर्माण गरिएको वीपी कोइरालाको सालिक अघि उभिएर डा.पोखरेलले सर्वसाधारण जनता अस्पताल आइसके पछि उपचार पाउन धेरै सास्ती व्यहोर्नुपर्ने पनि बताए ।

‘जनता अस्पताल आइसके पछि उपचार गर्न पटक पटक काउन्टरमा धाउनुपर्ने, जाँच गर्न पनि बाहिर जानुपर्ने, सिटि र एमआरआई गर्न विराटनगर, विर्तामोडसम्म जानुपर्ने बाध्यता छ,’डा.पोखरेलले भने,‘यस्तै बेथिती पटक पटक प्रशासनलाई ध्यानाकर्षण गराउदा, पटक पटक औल्याउदा पनि सुधार भएन । यसको जड भ्रष्ट पदाधिकारी र उहाँहरुले पाउने कमिशन, आर्थिक लेनदेन नै हो भन्ने बुझेको कारणले आन्दोलनमा आउनुपरेको हो ।’

 bp-ansan

डा. पोखरेलले अहिलेको आन्दोलन कुनै डाक्टरको तलब नआएको वा प्रशोसन नभएको भन्ने मागभन्दा धेरै माथि उठेको पनि प्रष्ट पारे । वीपीमा भएको भ्रष्टचारको डंगुर, जनताले पाउने कष्टलाई अन्त्य गर्नकै लागि धराने जनतासमेत उठेर आन्दोलन भइरहेको उनले बताए । ‘यो आन्दोलनले विपीलाई सुधार गर्छ भन्ने आशा लिएका छौं, तर यो तबमात्र सम्भव छ, जब धरान र प्रदेश १ का जनताहरुले वीपीको भ्रष्टचारबारे थाह पाउनुहुनेछ, र यो आन्दोलनमा हामीले पनि साथ दिनुपर्छ, भ्रष्टचारीहरुलाई पुच्छरमा आगो लगाएर खेद्नुपर्छ भनेर जाग्नुहुन्छ,’डा.पोखरेलले भने ।

विगत २८ दिनदेखि आन्दोलन जारी रहे पनि सरकार नै भ्रष्टहरुलाई बचाउन लागिपरेको प्रष्ट भइसकेको डा.पोखरेलले बताए । धरानका राजनीतिक दल, नागरिक समाज पनि उठेको र राजधानीमा पनि निरन्तर आन्दोलन भइरहेको कारण अब आन्दोलन सफलताउन्मुख रहेको उनले बताए । ‘प्राज्ञिक व्यक्तिहरुले गलत भनेको कुरालाई गम्भीरतापुर्वक लिनुपर्छ, तर हाम्रो कुलपति, सहकुलपतिले गम्भीरतापुर्वक लिएका छैनन्,’उनले भने,‘धरानका राजनीतिक दल, नागरिक समाज, जनताहरु हामीसँग हातेमालो गर्दैहुनुहुन्छ । हामी सफलता उन्मुख छौं, शिक्षा र स्वास्थ्यमा राजनीतिकरण गर्न हुदैन, र अब साच्चिनै प्राज्ञिक सर्वोच्चता स्थापित हुनेछ।’