धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई सुद्धिकरण गर्ने अभियान अन्तर्गत जारी आन्दोलनमा धरानका राजनीतिक दलहरु र धरान नागरिक दबाब सञ्जालले पनि सहभागिता जनाएका छन् ।
आन्दोलनरत संयुक्त संघर्ष समितिले आज बिहान आयोजना गरेको वृहत प्रर्दशनमा धरानका राजनीतिक दलहरु र दबाब सञ्जाल पनि सहभागी भएका हुन् । उपकुलपति कार्यालयबाट शुरु भएको र्याली बुद्धचोक हुँदै जिओपिडी अघि निर्माण भएको वीपी कोइरालाको सालिकमा पुगेर कोणसभामा परिणत भएको थियो । सभालाई सम्बोधन गर्दै दबाब सञ्जालका संयोजक राजेन्द्र शर्माले आन्दोलनको स्वामित्व धरानबासीले लिइसकेको बताए । उनले वीपी सुद्धिकरणको अभियानलाई देशव्यापीरुपमा दबाब सृर्जना गर्न धरानेहरुले पनि गम्भीर कदम चाल्न बाध्य भइरहेको बताए ।
प्रतिष्ठानको उपकुलपतिलाई मात्र नभै कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि नैतिकताको संकट रहेको भन्दै संयोजक शर्माले अब नैतिकताको आधारमा नभै पदाधिकारीहरुलाई नै सफाई गर्ने गरि अघि बढ्नुपर्ने बताए । ‘प्रतिष्ठानको कुलपति स्वयम प्रधानमन्त्री हुनुहुन्छ र प्रधानमन्त्रीले २ पटक विश्वासको मत गुमाइसकेका छन् । तर पदमा आसिन हुनुहुनछ । कुलपतिको खै नैतिकता ?,’उनले भने,‘जुन देशमा कुलपतिको नैतिकता हुदैन, त्यो देशमा बत्ति बालेर उपकुलपतिको नैतिकता खोजिरहनु भएको छ, त्यो सरासर गलत छ । त्यसैले नैतिकताको आधारमा होइन, अब पदाधिकारीहरुलाई सफाई अभियान गरेर यहाँबाट परास्त गरेनौं भने प्रतिष्ठान त डुब्छ, डुब्छ यसले प्रदान गरिरहेको सेवाबाट नेपाली जनताहरु बञ्चित हुन्छन् ।’