धरान: राष्ट्रिय गौरवको आयोजना २२० केभि प्रसार लाइन विस्तारको क्रममा धरान २० मा निर्माण गरिएको एउटा टावरको संरचनाहरु जोखिममा परेको छ । 

जोखिम उक्त टावरलाई मात्र होइन, कच्ची सडक पनि चिरा परेर भत्कनै लागेको छ भने त्यस ठाउँ मुनि करोडौं लगानीमा निर्माण भइरहेको सेक्ष एड्भेञ्चर पार्क पनि जोखिममा छ । सेक्ष एड्भेञ्चर पार्कका सञ्चालक एवं पर्यटनकर्मी वासुदेव वरालका अनुसार धरान २० चिण्डेडाँडा हुँदै सुलिकोट र तामाखाम जाने चोकमा रहेको टावर जोखिममा परेको हो । उक्त स्थानमा टावर निर्माण गर्दा एउटा डाँडा काटिएको थियो । डाँडा काटेर ठड्याइएको प्रसारण लाइनको टावरलाई जोगाउन पक्की वाल निर्माण गरिएको छ । उक्त वाललाई पनि जोगाउनको लागि ग्याबिङ वाल बनाइएको छ । 

वरालका अनुसार ग्याबिङ वालको छेउमा माटोको थुप्रो थियो । त्यो माटोको थुप्रोको भारलाई ग्याबिङ वालले थेग्न नसकेर भत्कन शुरु गरेको छ । बाटो चिरा चिरा परेको छ भने ग्याबिङ वालले ठाउँ छोडेर खस्नै लागेको छ । ‘यो पुरै खस्यो भने तल रहेको सेक्ष एड्भेञ्चर पार्कलाई क्षतविक्षत बनाउने जोखिम छ,’वरालले भने,‘तुरुन्त रोकथाम गर्न सकिएन भने टावरको संरचना, कम्पाउण्ड वाल सबै भत्किन्छ र ठुलो क्षति हुन्छ ।’ अहिले बर्षाको समय भएकोले ठुलो पानी पर्दा ग्याबिङ वाल भत्किएर खस्ने खतरा रहेको भन्दै उनले सम्बन्धित निकायहरुले चाडो ध्यान दिन पनि आग्रह गरे । 

सेक्ष एड्भेञ्चरले जोखिम न्युनीकरणको लागि उपमहानगरपालिकामा निवेदन दिएपनि हालसम्म कुनै प्रयास भएको जानकारी नपाएको पनि वरालले बताए । केही दिनअघि वडाअध्यक्ष, सदस्यहरु अवलोकन गर्न आउदा जालीको ढुंगाहरु निकालेर भार कम गर्ने भनेपनि थप पहल नभएको उनले गुनासो गरेका छन् ।