धरान: पर्यटकहरुलाई नयाँपन दिलाउने उद्देश्यले धरान २० स्थित कालीमाटीमा करोडौं लगानीमा सेक्ष एडभेञ्चर एण्ड होलिडेज निर्माण हुने भएको छ ।

धरानको पर्यटनमा सक्रिय सेक्ष पर्यटन समुहको लगानीमा नयाँ पर्यटकीय गन्तव्य निर्माण हुन लागेको हो । एडभेञ्चर पार्कको शिलान्यास भइसकेको छ । यो ठाउँ जिरोपोइन्टस्थित राजमार्गबाट करिब ५ किलोमिटर पश्चिम उत्तरमा साविक विष्णुपादुकामा पर्छ । धरानमा पार्कहरु भए पनि एडभेञ्चर पार्क नभएकोले पर्यटनमा नयाँपन दिलाउन लगानी गर्न लागेको पर्यटनकर्मी एवं लगानीकर्ता वासुदेव वरालले बताए । ‘पर्यटनमा नयाँ चिज थपौं भनेर पुर्वाधारमा लगानी गर्न लागेका हौं, एडभेञ्चर पार्क र रिसोर्ट हुन्छ,’उनले भने ।

यो पार्कमा डबल लेन भएको स्काई साइकल हुनेछ । पर्यटकहरुले तारमा साइकल कुदाउन पाउनेछन् । डबल लेन भएकोले एकै चोटी २ जनाले वा एक्लैले पनि साइकल कुदाउन सक्नेछन् । यस्तै, २ सय मिटरको छोटो दुरीको जिपलाइन पनि हुनेछ भने नेपालकै पहिलो ग्लास ब्रिज पनि यहाँ हुनेछ । ‘अरु ह्याङगिङ पुल, रेष्टुरेष्ट, इन्डोर चिल्ड्रेन पार्क र रिसोर्ट पनि बनाउछौं,’बरालले भने । आगामी ३ बर्षभित्र एडभेञ्चर पार्क, रेष्टुरेष्ट, चिल्ड्रेन पार्क र रिसोर्टलगायत सम्पुर्ण काम सकिने उनको भनाई छ ।

शुरुवात लगानी ५ करोड अनुमान गरिएको छ भने सम्पुर्ण संरचना निर्माण भइसक्दा १० करोड लगानीको अनुमान छ । यो पार्क ३ बिघा क्षेत्रफलमा हुनेछ । ‘अहिले कोभिडको महामारीले पर्यटन थला परेको छ, तर यो बेला पुर्वाधारमा लगानी गर्ने मौका पनि हो,’वराल भन्छन्,‘अहिले लगानी गरिराख्दा कोभिडको असर सकेपछि पर्यटनले पिकअप लिन्छ ।’ सेक्ष पर्यटन समुहले यसअघि सेक्ष ट्राभलिङमार्फत टुर प्याकेज शुरुवात गरेको थियो भने होटल सेक्ष, होटल सेक्ष इन पनि सञ्चालनमा ल्याइसकेको छ ।