धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा सुद्धिकरण आन्दोलन जारी राखेको संयुक्त संघर्ष समितिले नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई पत्र पठाएको छ ।
प्रतिष्ठानको कुलपतिसमेत रहेका प्रधानमन्त्री देउवालाई पत्र पठाउदै समितिले पदाधिकारीहरुसँग वार्ता नगर्ने आफुहरुको अडान रहेकोले हस्तक्षेपकारी भुमिकाको अपेक्षा जनाएको छ । समितिले ४८ घण्टाभित्र मागहरु पुरा नभए साउन १ गते शुक्रबारदेखि बिहान ८ बजेदेखि १० बजेसम्म आकस्मिक सेवा, कोभिड उपचार र पुर्वनिर्धारित परीक्षा कार्यक्रमबाहेक सम्पुर्ण सेवाहरुमा उपस्थित नहुने घोषणा गरेको छ ।
आफुहरुले राखेको मागहरु सम्बोधन नभएसम्म आन्दोलनबाट पछि नहट्ने पनि संघर्ष समितिले अडान दोहोर्याएको छ । समितिले ४८ घण्टाभित्र प्रधानमन्त्री तहबाटै सचिवस्तरीय वार्ता कमिटि गठन गर्न माग गरेको छ । यस्तै, प्रतिष्ठानको अनियमितता, भ्रष्टाचार, बेथितीबारे उच्चस्तरीय छानबिन आयोग गठन गरेर दोषी देखिएकाहरुलाई तत्काल कार्वाही प्रक्रिया अघि बढाउन पनि संघर्ष समितिले माग गरेको छ । असार १५ गते वार्ताको क्रममा उपकुलपति मदिरा पिएर आएको भन्ने घटनाबारे निष्पक्ष छानबिन गर्न, दोषी देखिए कारबाही गर्न र उपकुलपति प्राध्यापक भए नभएको सत्यतथ्य जानकारी गराउन पनि माग गरिएको छ ।