धरान: चिकित्सा शिक्षा सुधारको लागि निरन्तर लागिपरेको डाक्टर गोविन्द केसी बुधबार अचानक धरान आइपुगे । वीपी प्रतिष्ठानमा जारी आन्दोलनमा एक्यवद्धता जनाउन उनी धरान आउने चर्चा केही समयदेखि भइरहे पनि कुन दिन आउछ भन्ने कसैलाई थाह थिएन ।

बुधबार बिहानै डाक्टर केसी धरान आउदैछन् भन्ने खबर वीपी प्रतिष्ठानस्थित संयुक्त संघर्ष समितिले पायो । समितिका सहसंयोजक डा.विष्णु पोखरेलले केसीलाई फोन गरे । केसीले उनलाई एक दुई दिनमा आउछुँ भने । एक दुई दिनमा आउछुँ भनेका केसीले केही घण्टा पछि वीपी प्रतिष्ठानको इर्मजेन्सीअघि छुँ भनेर फोन गरेपनि डाक्टर पोखरेल छक्क परे ।

करिब ११ बजे तिर डाक्टर केसी प्रतिष्ठान आइपुगेका थिए । डाक्टर केसी आइपुगेपछि सञ्चारकर्मीसहित आन्दोलनरत सबैलाई खबर गरियो, २ बजे पत्रकार सम्मेलन गर्ने । दिउँसो २ बजे प्रतिष्ठानको उपकुलपति कार्यालयअघि अनसनस्थलमा डाक्टर केसी, धरान नागरिक दबाब समुहका प्रतिनिधिको उपस्थितिमा कार्यक्रम भयो ।

govinda-kc-bp

उक्त कार्यक्रममा संघर्ष समितिले आन्दोलनको माग र पछिल्लो परिस्थितिबारे उनलाई जानकारी दियो । त्यसपछि डाक्टर केसीले सम्बोधन गर्दै आन्दोलनको नारा सुद्धिकरण अभियान भन्दा अन्य कुनै पनि राम्रो र सार्थक नारा नहुने बताए । साथै उनले आन्दोलनप्रति पुर्ण ऐक्यवद्धता र समर्थन रहेको पनि बताए । 

आन्दोलनप्रति ऐक्यवद्धता जनाएका डाक्टर केसी बुधबार नै राजधानी फर्किसकेका छन् । उनलाई विराटनगर एयरपोर्टसम्म पुर्याउन प्रतिष्ठानस्थित संघर्ष समितिको टोली गएको थियो । साँझ साढे ६ बजेको फ्लाइट भएपनि केही ढिला गरि उडेको विद्यार्थी प्रतिनिधि अमृत जैसीले जानकारी दिए । ‘विराटनगर एयरपोर्टसम्म सरलाई पुर्याएर आयौं, साढे ६ बजेको फ्लाइट भएपनि ७ बजेतिर मात्र उड्यो,’उनले भने ।