धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति प्रा.डा.ज्ञानेन्द्र गिरीले आन्दोलनरत पक्षलाई पुनः वार्ताको लागि आह्वान गरेका छन् । 

डा.गिरीले कुलपति, सहकुलपति, सिनेट सदस्य, प्रतिष्ठानका प्राध्यापक, कर्मचारी, विद्यार्थी, अभिभावकलगायत सबैलाई सार्वजनिक अपिल मार्फत वार्ताको आह्वान गर्दै १२ बुँदे मागहरुप्रति संस्थागत धारणा पनि व्यक्त गरेका छन् । उनले प्रतिष्ठानलाई सवल र सक्षम बनाउने उद्देश्यले उठान गरिएको मागहरु पुरा नगर्ने मनसाय नरहेको भन्दै अपिलमा भनेका छन्,‘आउनुहोस, छलफलमा बसौं । शुद्धिकरण अभियान मेरो पनि हो, तपाई हामी एकजुट भएर प्रतिष्ठानलाई दक्षिण एसियाकै नमुना प्रतिष्ठानका रुपमा विकास गर्ने अभियानमा समाहित हौं ।’

उनले सुशासन प्रर्वद्धन सम्बन्धी नीति तर्जुमा गरी कार्यान्वयनमा लाग्ने पनि प्रतिवद्धता जनाएका छन् । प्रतिष्ठानको शिक्षण सेवातर्फ सम्पुर्ण कार्यहरु, अस्पताल सेवा र प्रशासनका विभिन्न कार्यहरु, प्रतिष्ठानका विविध प्रशासनिक कार्यहरुलाई डिजिटल प्रणालीमा विकास गर्न र सुसञ्चालनको लागि प्रतिष्ठान डिजीटलाइजेसन सम्बन्धी नीति निर्माण गरि तत्काल परिवर्तनको अनुभीति दिलाउने गरि कार्यान्वयन गर्ने प्रतिवद्धता पनि जनाएका छन् ।

मेडिकल सामग्रीलगायत अन्य उपकरणको सन्दर्भमा अस्पताल निर्देशकलाई थप जिम्मेवार बनाउदै अस्पतालको वर्तमान अवस्था, सुधार गर्नुपर्ने विविध पक्ष, सुधारका चुनौतीसहितको श्वेतपत्र जारी गरेर आवश्यक समाधान गर्न आन्दोलनरत पक्ष, विभिन्न निकाय, स्थानीय सरकार, प्रदेश सरकार र केन्द्र सरकारसँग समन्वय गरेर समाधान गर्ने प्रतिवद्धता पनि उपकुलपति डा.गिरीले जनाएका छन् । उनले विगत २७ बर्षदेखिको थुप्रिएको फोहोरलाई सफा गर्दा एक दुई छिटा आफुमा पर्नुलाई अन्यथा नलिएको पनि उल्लेख गरेका छन् । साथै, अपिलमा आन्दोलनरत पक्षको १२ बुँदे मागहरुप्रति बुँदागतरुपमा संस्थागत धारणा पनि उनले सार्वजनिक गरेका छन् ।