धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति प्रा.डा.ज्ञानेन्द्र गिरीले आन्दोलनरत पक्षलाई वार्ताको लागि आह्वान गरेका छन् ।
आन्दोलनरत पक्ष संयुक्त संघर्ष समितिले प्रतिष्ठानका पदाधिकारीहरुसँग कुनै वार्ता नगर्ने घोषणा गरेको बेला बुधबार विज्ञप्ती जारी गर्दै उपकुलपति डा.गिरीले सौहार्दपुर्ण वार्ताको आह्वान गरेका हुन् । उपकुलपतिले आन्दोलनरत पक्षलाई वार्ताको लागि आन्तरिकरुपमा निकालेको उक्त विज्ञप्ती मिडियाकर्मीसम्म आइपुगेको हो । प्रतिष्ठानलाई बिषम परिस्थितिबाट सबैले हातेमालो गरेर सबै शंका, उपशंकाहरु चिर्दै प्रतिष्ठानभित्रका सबै सरोकारवालाहरु एक ठाउँमा आएर आपसी छलफल र सहकार्यको माध्यमबाट निकास दिन भन्दै उपकुलपति डा.गिरीले वार्ताको आह्वावन गरेका छन् । हिजो मंगलबार दिउँसो करिब ३ बजे वार्ताको लागि संघर्ष समितिलाई बोलाएका उपकुलपति गिरी भने मदिरा सेवन गरेको अवस्थामा देखिएको भन्दै आन्दोलनरत पक्षले वार्ता बहिष्कार गरेको थियो ।
उपकुलपति गिरीले शिक्षक, कर्मचारी र विद्यार्थीहरुलाई सम्बोधन गर्दै प्रतिष्ठानप्रतिको माया र न्यायोचित निष्ठाप्रति उच्च सम्मान गर्ने पनि उल्लेख गरेका छन् । माकुराको जालो जस्तै विविध किसिमका समस्याको चंगुलमा फसेको प्रतिष्ठानलाई ती समस्याहरुबाट निकास दिन विद्यमान आन्दोलनले सम्भव पार्ने पनि उपकुलपति डा.गिरीले विश्वास व्यक्त गरेका छन् ।
उनले आफु आएको १५ महिनाको दौरान प्रतिष्ठानप्रति निष्ठावान भई काम गरेको दाबी गर्दै कुनै प्रकारको कमीकमजोरी भए त्यस्ता कार्यको संवैधानिक अख्तियारवाला निकायले छानबिन एवं अनुसन्धान गरी सत्यतथ्य पत्ता लगाउन सहयोग गर्ने र दोषी करार भए कानुन वमोजिम हुन जाने कुरामा आफु तयार रहेको बताएका छन् ।
आफु संस्थागत जिम्मेवारी पुरा गर्नको लागि काठमाण्डौंमा बसेको र आन्दोलनमा उठेका जायज, निस्वार्थ मागहरु सम्बोधन गर्नकै लागि राती अबेरसम्म र भोलीपल्ट बिहानैदेखि पदाधिकारी, सरोकारवालाहरुसँग निरन्तर संवादमा रहेको पनि विज्ञप्तीमा उल्लेख छ । उनले आन्दोलनरत पक्षको प्रतिष्ठान सुद्धिकरण अभियानलाई खुलाहृदयले स्वागत गर्ने पनि बताएका छन् । साथै, आन्दोलनरत पक्षमा राष्ट्रप्रतिको कर्तव्य, नयाँ युगको सपना, स्वास्थ्य क्षेत्रको संवेदनशिलताप्रति गहिरो, अटुट र अटल निष्ठा देखेको पनि खुलाएका छन् ।