धरान: आज स्वर्गीय मेयर तारा सुब्बाको तेस्रो स्मृति दिवस नेकपा एमालेका दुवै समुहले धरानमा संयुक्तरुपमा मनाउदैछन् ।
आफ्नै पार्टीको सरकार ढलेपछि केन्द्रमा पार्टीअध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपाल समुहबीच तिक्तता झनै बढेको बेला धरानमा भने दुवै समुहले संयुक्तरुपमा कार्यक्रम गरेर पार्टी एकताको सन्देश दिन लागेका हुन् । बिहान धरान १९ हरियाली सामुदायिक वन समुह हाताभित्र रहेको तारा सुब्बा स्मृति पार्कमा दुवै समुहले संयुक्त कार्यक्रम गर्ने तयारी गरेका हुन् । बिहान ७ बजे कार्यक्रमको तयारी भएपनि बर्षाको कारणले प्रभावित हुन पुगेको छ ।
एमालेको माधव नेपाल समुहका अध्यक्ष नारायण सुवेदीले पार्टी एकताको सन्देश दिनलाई पनि संयुक्तरुपमा कार्यक्रम गर्न लागेको बताए । पार्टी एक नभै धरै छैन, एकताको सन्देश जाओस् भनेर पनि संयुक्तरुपमा मनाउदैछौं, उनले भने । कार्यक्रममा स्वर्गीय मेयर सुब्बाको प्रतिमामा माल्यार्पण गरिनेछ भने छोटोरुपमा जीवनी चर्चा हुने उनले बताए । ओली समुहकी धरान उपमहानगर उपाध्यक्ष सविता राईले पनि पार्टी एक भएर जानुपर्ने सन्देश दिनकै लागि संयुक्त कार्यक्रम गरिएको बताइन् । उनले सबैको अस्तित्व स्वीकार गर्दै पार्टीलाई सांगठनिक र भावनात्मकरुपमा एक बनाउनुपर्ने आवश्यकता रहेको पनि बताए ।
यसैगरि, आजै धरान उपमहानगरपालिकाले पनि स्वर्गीय तारा सुब्बाको तेस्रो स्मृति दिवसमा एक कार्यक्रम आयोजना गरेको छ। बिहान ११ बजे उपमहानगरको प्रांगणमा प्रदेश सभामुख प्रदिपकुमार भण्डारीको प्रमुख आतिथ्यमा स्मृति दिवस आयोजना गरिएको उपमहानगरले जनाएको छ । २०७४ सालको स्थानीय तह निर्वाचनमा मेयरमा विजयी भएका सुब्बाको २०७५ साउन १ गते निधन भएको थियो ।