धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका आर्थिक महाशाखा प्रमुखविरुद्ध प्रहरीमा जाहेरी दर्ता भएको छ ।

आवास नछोडेको भन्दै गालीगलौज, धाकधम्की दिएको र आक्रमणको प्रयास गरेको आरोपमा प्रतिष्ठानमै डिएम अध्ययरत डा.विप्लव कार्कीले महाशाखा प्रमुख कमल रायमाझीविरुद्ध प्रहरीमा जाहेरी दिएका थिए । आन्दोलनरत डाक्टरहरुसहित कार्कीले रायमाझीविरुद्ध अभद्र व्यवहार गरेको भन्दै जाहेरी दिएका थिए । उनको जाहेरीलाई प्रहरीले धेरै ढिला गरि दर्ता गरेको हो ।

ईलाका प्रहरी कार्यालय धरानका डिएसपी नरेन्द्र कुँवरले डाक्टरले जाहेरी दिएपछि दर्ता गरेर कानुनी प्रक्रियामा राखिएको जानकारी दिए । उनले भने,‘जाहेरी दिनुभयो, कानुन अनुसार दर्ता गरेर प्रक्रियामा राखेका छौं । अभद्र व्यवहार मुद्दामा कारबाही प्रक्रिया अघि बढ्छ ।’ अभद्र व्यवहार मुद्दा प्रमुख जिल्ला अधिकारीले हेर्ने कानुनी व्यवस्था छ । 

सँगै आवास रहेका डा.कार्कीलाई रायमाझीले एस टाइपमा कोठा खोजेर स्थानान्तरण गराउन चाहेका थ्एि । सोही क्रममा कोठा खोजेर सार्ने प्रक्रिया अघि बढाइसकेका रायमाझीलाई डा.कार्कीले कोठा नसर्ने भनेपछि विवाद भएको थियो । रायमाझीले हिजो राती मदिरा सेवन गरेर धाकधम्की, गालीगलौज गरेको भन्दै जुनियर रेजिडेन्ट वेल्फेयर सोसाइटीले थप आन्दोलनको कार्यक्रम घोषणा गरेको थियो । आकस्मिक र कोभिड बाहेक रेजिडेन्टहरुले आज अन्य सेवाहरु बहिष्कार गरेको थियो । आरोपित रायमाझीले भने आफुले मदिरा सेवन नगरेको र धम्की पनि नदिएको दाबी गर्दै आएका छन् ।