धरान: कोरोना संक्रमण बढ्दै गएपछि पुनः लकडाउन गर्नुपर्ने माग भइरहदा शुक्रबार धरानको भिडभाड हुने बजार क्षेत्रमा उपमहानगरपालिकाको नेतृत्वमा स्वास्थ्य मापदण्ड पालना बारे अनुगमन गरिएको थियो ।

अनुगमनको क्रममा बढी जनसम्पर्कमा रहने व्यापारीहरुको तत्काल एन्टिजेन परीक्षण पनि गरिएको थियो । उपमहानगरका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार भानुचोकस्थित सब्जीमण्डी, देशीलाइन भौडी क्षेत्रका स्थानीय व्यापारीहरुको एन्टिजेन परीक्षण गरिएको थियो । त्यसक्रममा कुल ७१ जनाको परीक्षण गर्दा ३ जनाको रिपोर्ट पोजेटिभ आएको थियो । 

मेहताका अुनसार सब्जीमण्डी क्षेत्रका ३७ जनाको परीक्षण गर्दा १ जना महिलाको रिपोर्ट पोजेटिभ आएको थियो । त्यहाँ २६ जना पुरुष २६ र ११ जना महिलाको एन्टिजेन परीक्षण गरिएको थियो । यसैगरि, माछा भौडीमा ३४ जनाको परीक्षण गरिएकोमा २ जना पुरुषको रिपोर्ट पोजेटिभ आएको मेहताले बताए । त्यहाँ २८ जना पुरुष र ६ जना महिलाको परीक्षण गरिएको थियो ।  

रिपोर्ट पोजेटिभ आएका व्यक्तिहरुलाई घरमा आइसोलेसनमा सुरक्षित तरिकाले बस्न र कुनै समस्या भए सम्पर्क गर्न आग्रह गरिएको मेहताले बताए । ‘उनीहरुको परिवारलाई पनि परीक्षण गर्नुपर्छ भनेका छौं । घरमा आइसोलेसनमा बस्न गाह्रो भए हामी हरियाली वन समुहमा बनाएको आइसोलेसनमा राख्छौं, सम्पर्क गर्नुस भनेका छौं,’मेहताले भने । 

dharan antigen

धरानमा पछिल्लो समय दैनिकरुपमा कोरोना संक्रमितको संख्या सरदर ५० भन्दा बढी थपिदै गएको छ । निषेधाज्ञा खुकुलो पारेपछि यातायात, व्यापार व्यवसाय सञ्चालनमा आएको र बजारमा भिडभाड ह्वात्तै बढेको छ भने सर्वसाधारणहरुमा लापरवाही पनि बढेको छ । शुक्रबार अनुगमनकै क्रममा चार पांग्रे गाडी, मोटरसाइकल र पैदल यात्रुहरु पनि भिडभाड क्षेत्रमा मास्क विना नै हिडिरहेको पाइएको थियो । 

धरानमा शुक्रबार (आज) मात्रै ७३ जना संक्रमित थपिएका छन् भने बिहिबार ४७ जना, बुधबार ७१ जना र मंगलबार ६३ जना संक्रमित थपिएका थिए । संक्रमण दर उच्च हुँदै गएपछि धरानमा फेरि लकडाउन गर्नुपर्ने दबाब मेयर, उपमेयरमाथि छ । उपमेयर मञ्जु भण्डारी सुवेदी लकडाउन गर्नुपर्ने अवस्था आउन नदिन आम सर्वसाधारणहरु पनि आफै सचेत हुनुपर्ने बताउँछिन् । 

‘धरानमा फेरि कोरोना संक्रमण बढिरहेकोले लकडाउन गरिहाल्नुपर्ने भनेर जनदबाब आइरहेको छ, तर बन्दले व्यापार र जनजीवन अस्तबस्त बनाएको थियो, त्यसैले तत्काल लकडाउन गरि नहालौं, विकल्प पनि छ भनेर जनचेतना जगाउन अनुगमन गरिएको हो,’उनले भनिन्,‘भिडभाड कम गर्ने हो भने, मास्क र सेनिटाइजर प्रयोग गर्ने हो भने नियन्त्रण हुन्छ । व्यापारी र सर्वसाधारणहरुले पनि मापदण्ड पालना गर्ने हो भने लकडाउन गर्नुपदैन, यसमा सबैले सावधानी अपनाउनुपर्छ ।’