धरान: इटहरीमा शरीर बन्धक तथा अपहरण आरोपमा पक्राउ परेका ३ जना मध्ये एक संगीत थापाकी आमाले आफ्ना छोरा र साथीहरु निर्दोष भएको दाबी गरेकी छिन् । 

संगीतकी आमा शोभा कार्की थापाले अपहरणमा परेको भनिएका निर्मल श्रेष्ठलाई आफ्ना छोरा संगीत र उनका साथीहरुले अपहरण नगरेको दाबी गरेकी हुन् । छोराको पैसा चलाए पछि लामो समयसम्म फिर्ता नदिएको कारण निर्मललाई भेटेपछि घरमा नै लिएर आएको उनले बताइन् । '२, ३ हजार चलाइदिएको रहेछ । छोराले पनि मलाई ढाटेर उसको घर विरगञ्ज हो, भाडा नभएर आएको भन्यो,'आमा शोभाले क्लिकधरानसँग मोवाइल सम्पर्कमा भनिन्, 'मैले पनि घरमा एक रात बास बस्न दिए । बेलुका भात पनि खुवाएको हो ।' 

छोराहरु सुतिरहेको बेला ताला फुटाएर निर्मल भागेको र पछि पक्रेर ल्याएको पनि उनले बताइन् । आफुले धेरै पछि मात्र निर्मलले छोराको पैसा चलाइदिएको र फिर्ता नदिएको बारेमा थाह भएको शोभाको दाबी छ । निर्मलले बेखर्ची भएर घर (विरगञ्ज) नगएको बताएको कारण बिहान चिया र पाउरोटी खुवाएर २ सय भाडासमेत दिएर पठाएको उनको दाबी छ । 'बिहान चिया र पाउरोटी खुवाए । बाटो खर्च २ सय भाडा पनि दिए । कसरी किडन्याप भयो ? त्यत्रो सहयोग गरेको अहिले आफै फसे,'उनले भनिन्,'मलाई छोराले पनि पैसा चलाएर नदिएकोले घरमा ल्याएको भनेन । नत्र सम्झाउथे । छोराहरुको जिन्दगी त बर्बाद पारिदिनु भएन नि !' 

प्रहरीले हिजो शुक्रबार बिहान इटहरी ८ स्थित फुलबारी टोलको प्लटिङबाट इटहरी ४ का २२ बर्षीय निर्मल श्रेष्ठलाई उद्दार गरेको थियो । साथै, उनलाई कुटपिट गरिरहेका इटहरी ७ का २५ बर्षीय संगीत थापा, १९ बर्षीय अनिष कार्की र इटहरी ८ का २३ बर्षीय सिद्धार्थ राई पक्राउ गरेर अपहरण तथा शरीर बन्धक सम्बन्धी कसुरमा कारबाही प्रक्रिया अघि बढाएको छ ।

संगीतले दिएको पैसा फिर्ता नगरेपछि ३ जना मिलेर निर्मललाई अघिल्लो दिन अपहरणको शैलीमा आँखामा पट्टी बाँधेर घरमा लिएर गएको र बन्धक वनाएको प्रहरीको भनाई छ । भोलीपल्ट बिहान शुक्रबार पैदल हिडाउदै लगेर कुटपिट गरिरहेको अवस्थामा घटनाबारे प्रहरीले जानकारी पाएपछि घटनास्थलमा पुगेर निर्मललाई उद्दार गरेको थियो भने ३ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।