धरान: रहस्यमयरुपमा धरान ४ वैदाङ्गे खोल्सीमा शव भेटिएको प्रदिप सुब्बाको हत्या आशंकामा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धरान ४ पत्रांगबारीमा सिरान सालघारीमा आङ्बुहाङ एग्रीकल्चर एण्ड लाइभ स्टक फार्म प्रालिका सञ्चालक ४४ बर्षीय मंगलसिंह लिम्बु, फार्ममा सहयोगीकरुपमा कार्यरत २० बर्षीय भरत भुजेल र सोही स्थानमा बाख्रा फार्म सञ्चालन गर्ने ५४ बर्षीय जन्तरे भन्ने रामकुमार राई रहेका छन् । उनीहरुलाई पक्राउ गर्न ईलाका प्रहरी कार्यालय धरानले शुक्रबार जिल्ला अदालतबाट अनुमति लिएको थियो । प्रहरीका अनुसार शनिबारबाट लागु हुने गरि अदालतबाट ७ दिनको म्याद लिएर कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान भइरहेको छ ।

मृतक सुब्बा मंगलसिंहको फार्ममा काम गर्दै आएका थिए । उनीसँगै काम गर्ने धरान १४ का भरत भुजेलले बैशाख ७ गते भेट्न बोलाए पछि घरबाट हिडेको र सम्पर्क विहिन भएका थिए । करिब एक महिना पछि जेठ ५ गते प्रदिपको शव बैदाप खोपमा कुहिएको अवस्थामा भेटिएको थियो । उनका बुबा सुर्यबहादुर सुब्बाले कर्तव्य गरी मारेको आशंकामा प्रहरीमा जाहेरी दिए पनि लामो समयसम्म अनुसन्धानले गति लिएको थिएन । मृतक परिवारले हत्यामा ३ जनाको संलग्नता भएको हुनसक्ने भन्दै पक्राउ गरेर अनुसन्धान गर्न माग गरेपनि प्रहरीले अनुसन्धान गरेर मात्र पक्राउ गर्ने जनाएको थियो । 

pradeep subba

यसबीचमा धरानमा डिएसपी परिवर्तन भए । नयाँ डिएसपी नरेन्द्र कुँवर भर्खर आएको बेला मृतक परिवारले पत्रकार सम्मेलन गर्दै प्रहरीले आरोपितहरुलाई बचाएको आरोप लगाए । यसपछि डिएसपी कुँवरले घटनालाई गम्भीररुपमा लिएको र अनुसन्धान गरेर दोषी पत्ता लगाएरै छोड्ने प्रतिवद्धता पत्रकार र मृतक परिवारलाई जनाएका थिए । ढिलै गरि भएपनि प्रहरीले हत्यामा संलग्न भएको आशंकामा मृतक परिवारले औल्याएका व्यक्तिहरुलाई हिरासतमा लिएको छ । डिएसपी कुँवरले प्रदिपको हत्या भएको आधारहरु भेटिएको र त्यसमा ३ जनाको संलग्नताको पनि आधार भएकै कारण नियन्त्रणमा लिइएको बताए । उनले भने,‘केही शंका भएर नै, आधार र कारण भेटिएर नै नियन्त्रणमा लिइएको हो । थप अनुसन्धान गर्दैछौं ।’