धरान: कोरोना संक्रमण भएपछि होम आइसोलेसनमा बसिरहेका धरान १६ का एक वृद्धको मृत्यु भएको छ । 

धरान १६ लोकतन्त्र वस्तीका ६९ बर्षीय वृद्धको होम आइसोलेसनमा सोमबार दिउँसो करिब ४ बजेतिर मृत्यु भएको हो । मृतकको शव घरमा नै रहेको र भोली बुधबार बिहान अन्त्येष्टी गरिने वडा नं १६ का अध्यक्ष दिलकुमार गिरीले जानकारी दिए । उनका अनुसार कोरोना संक्रमण भएको ३ दिनमा वृद्धको मृत्यु भएको हो । 

मृतक मृगौला रोगी पनि भएको वडाअध्यक्ष गिरीले जानकारी दिए । परिवार ज्यादै निम्न आर्थिक अवस्था भएकोले उपचार गराउन पनि समस्या भएको उनको भनाई छ । अस्पतालमा उपचारको क्रममा ३ दिन अघि संक्रमण पुष्टि भएपछि वृद्धलाई घर फर्काएर होम आइसोलेसनमा राखिएको थियो । 'घरको आर्थिक अवस्था ज्यादै नाजुक छ । २ जना छोरा भएपनि कमाई छैन,'वडाअध्यक्ष गिरीले भने,'भोली बिहान मापदण्ड अनुसार अन्त्येष्टी गर्ने तयारी गरेका छौं ।'