धरान: कोभिड १९ विरुद्धको खोप अभियान अन्तर्गत पहिलो दिन सोमबार धरानमा २ हजार ९ सय ५ जनाले भेरो सेल खोप लगाएका छन् । 

धरानको विभिन्न ७ वटा खोप केन्द्रमा ५५ बर्ष वा सो भन्दा माथिको उमेर समुहका नागरिकहरुले खोप लगाएका हुन् । यस्तै विभिन्न लक्षित समुहका व्यक्तिहरुले पनि खोपको पहिलो मात्रा लगाएका छन् । स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार १ हजार ३८९ जना पुरुष र १ हजार ५१६ महिला गरि २ हजार ९ सय ५ जनाले सोमबार धरानमा खोप लगाएका छन् । 

मेहताका अनुसार पाँचकन्या खोप केन्द्रमा ९६ जना पुरुष र ८९ जना महिला गरि १८५ जनाले खोप लगाएका छन् । यस्तै, धरानको सभागृह केन्द्रमा ३७२ जना पुरुष र ४२७ जना महिला गरि ७९९ जनाले खोप लगाएका छन् । वडा नं १३ स्थित खोप केन्द्रमा १६६ जना पुरुष र २३४ जना महिला गरि ४ सयले खोप लगाए भने छाताचोकस्थित पुरानो अस्पतालमा रहेको खोप केन्द्रमा २७८ जना पुरुष र २५५ जना महिला गरि ५३३ जनाले खोप लगाएका छन् ।

वडा नं १५ मा २ सय पुरुष र १९६ जना महिला गरि ३९६ जनाले खोप लगाए भने वडा नं २० विष्णुपादुकास्थित खोप केन्द्रमा ३७ पुरुष र २५ महिला गरि ६२ जनाले खोप लगाएका छन् । यस्तै, धरान १८ स्थित कार्मेल हाईस्कुल खोप केन्द्रमा २४६ जना पुरुष र २९० जना महिला गरि ५३० ले खोप लगाएको स्वास्थ्य महाशाखाले जानकारी दिएको छ । 

khop1 1

धरानमा मंगलबार र बुधबार पनि भेरो सेल खोप लगाउने कार्यक्रम छ । त्यसपछि थप २ दिन जोन्सनको खोप लगाउने तालिका रहेको छ । छाताचोकस्थित खोप केन्द्रमा वडा नं. १, २, ३, १०, १२ र १६ का नागरिकहरुलाई खोप लगाउने व्यस्था छ भने त्यहाँ वैदेशिक रोजगारमा जाने व्यक्तिहरुले पनि भिसा र पासपोर्टको आधारमा खोप लगाउने पाउनेछन् । 

 पाँचकन्या स्वास्थ्य चौकी ठिंगाबारीमा वडा नं.४, ५ र ६ का नागरिकहरुलाई खोप लगाउने व्यवस्था गरिएको छ भने विष्णुपादुका स्वास्थ्य चौकीमा वडा नं २० को लागि खोप केन्द्र तोकिएको छ । धरान ८ स्थित सभागृहमा वडा नं ७, ८ र ९ का बासिन्दाहरुसँगै सार्वजनिक यातायातका चालक, सहचालक, विश्वविद्यालय र विद्यालयका प्राध्यापक, शिक्षक र शिक्षाका कर्मचारीहरुलाई पनि खोप दिइने व्यवस्था छ । 

 यसैगरि, वडा नं. १३ स्थित आधारभुत स्वास्थ्य केन्द्रमा वडा नं ४, १३ र १४ नागरिकहरुलाई खोप लगाउने व्यवस्था गरिएको छ । सोही स्थानमा यसअघि खोप लगाउन छुटेका सञ्चारकर्मी तथा पत्रकारहरुलाई खोप लगाउने व्यवस्था गरिएको छ । धरान १५ स्थित पूर्वाञ्चल ज्ञानचक्षु विद्यालयमा रहेको खोप केन्द्रमा वडा नं. ६ र १५ का नागरिकहरुको लागि व्यवस्था गरिएको छ भने धरान १८ स्थित कार्मेल हाईस्कुलमा रहने केन्द्रमा वडा नं ११, १७, १८ र १९ का नागरिकहरुलाई खोप लगाईने व्यवस्था छ । 

भेरो सेल ५० बर्ष उमेर माथिकालाई दिइनेछ भने जोन्सन खोप ५० वर्षदेखि ५४ वर्ष उमेर समुहकालाई दिइनेछ । यस्तै, जोन्सन खोप पुर्ण र अतिअशक्त अपाङ्गता भएका, स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र सरसफाईकर्मीहरुलाई पनि दिइने स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए ।