धरान: धरानमा कोरोना विरुद्धको खोप कार्यक्रम स्थगित भएको छ ।

तीन दिनसम्म भेरो सेल खोप कार्यक्रम भएको धरानमा भोलीदेखि जोन्सन खोप लगाउने तालिका थियो । साथै, थप एक दिन भेरो सेल खोप लगाउने भनिएको थियो । तर, जिल्ला स्वास्थ्य कार्यालयबाट खोप नआइपुगेको कारण स्थगित गर्नुपरेको उपमहानगरपालिकाले जनाएको छ । यस्तै, भेरो सेल खोप पनि बुधबार नै सकिएको उपमहानगरपालिकाले जनाएको छ । स्वास्थ्य महाशाखाका कविराज रामबाबु यादवले भने,‘भोलीदेखि जोन्सनको खोप लगाउने कुरा थियो । तर, खोप नआइपुगेको कारण स्थगित गर्नुपरेको हो ।’

धरानमा सोमबारदेखि ५५ बर्ष उमेर भन्दा माथिका नागरिकहरुलाई भेरो सेल खोप लगाइएको थियो । यस्तै, विदेश जानुपर्ने व्यक्तिहरु, शिक्षकहरुलाई पनि खोप लगाइएको थियो । यद्यपी, राजनीतिक र पहुँचको आधारमा लक्षित वर्गबाहिरका व्यक्तिहरुले पनि खोप लगाएको व्यापक गुनासो आएको थियो । धरानका वरिष्ठ प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडाले जोन्सन खोप कहिले आइपुग्ने भन्ने सुनिश्चित नभएकोले भोलीदेखिको खोप कार्यक्रम स्थगित गर्नुपरेको बताए । उनले भने,‘जोन्सन खोप आइपुगेकै छैन । कहिले आइपुग्छ भन्ने पनि भएन । त्यसैले तत्काललाई स्थगित भएको हो । खोप आएपछि फेरि लगाइन्छ ।’