धरान: कोभिड १९ विरुद्धको खोप अभियानमा धरानमा दोस्रो दिन मंगलबार ५ हजार बढीले भेरो सेल खोप लगाएका छन् ।

धरानको विभिन्न ७ वटा खोप केन्द्रमा मंगलबार एकै दिन ५ हजार २ सय ९२ जनाले खोप लगाएका हुन् । जिल्ला स्वास्थ्य कार्यालय सुनसरीले भेरो सेल ५ हजारलाई लगाउने लक्ष्य लिएको थियो । पुर्वघोषित तालिका अनुसार अझै एक दिन समय बाँकी रहदा नै लक्ष्यभन्दा बढीले भेरो सेल खोप लगाएका छन् । धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार मंगलबार २ हजार ८ सय ३१ जना पुरुषले खोप लगाएका छन् भने २ हजार ४ सय ६१ जना महिलाले खोप लगाएका छन् । सोमबार पहिलो दिन २ हजार ९०५ जनाले खोप लगाएका थिए । 

khop1

महाशाखा प्रमुख मेहताका अनुसार धरानका ७ वटै खोप केन्द्रमा बुधबार र बिहिबार पनि भेरो सेल खोप नै लगाइने भएको छ । यसअघि धरानको छाता चोकस्थित पुरानो अस्पताल हाताभित्र बाहेक अन्य खोप केन्द्रमा सोमबार र मंगलबार २ दिन मात्र भेरो सेल खोप लगाउने कार्यतालिका थियो । तर, अब ७ वटै केन्द्रहरुमा अझै २ दिनसम्म भेरो सेल खोप नै लगाइने भएको मेहताले जानकारी दिए । उनका अनुसार जोन्सन खोप लगाउने कार्यतालिका अब केही दिन पछि सरेको छ । 

मंगलबार कुन केन्द्रमा कतिले लगाए खोप ? 

स्वास्थ्य महाशाखा प्रमुख मेहताका अनुसार मंगलबार सबैभन्दा बढी धरान ८, सभागृहमा रहेको खोप केन्द्रमा खोप लगाउनेको संख्या छ । उक्त खोप केन्द्रमा १ हजार २ सयले खोप लगाएका छन् । त्यहाँ ६६३ जना पुरुष र ५३७ जना महिलाले खोप लगाएका छन् ।

यस्तै, धरान वडा नं १३ स्थित आधारभुत स्वास्थ्य केन्द्रमा १ हजार जनाले खोप लगाएका छन् । ती मध्ये ५२४ पुरुष र ४७६ महिला छन् । धरान वडा नं १८ स्थित कार्मेल हाई स्कुल खोप केन्द्रमा पनि १ हजार जनाले खोप लगाएको स्वास्थ्य महाशाखाले जनाएको छ । उक्त केन्द्रमा ६०६ जना महिला र ३९४ जना पुरुषले खोप लगाएका छन् । 

khop2

यसैगरि, छाताचोकस्थित पुरानो हस्पताल क्षेत्रको खोप केन्द्रमा ८२६ जनाले खोप लगाएकोमा महिला ३९५ जना महिला र पुरुष ४३१ जना पुरुष छन् । यस्तै, पाँचकन्यामा रहेको खोप केन्द्रमा ५२४ जनाले खोप लगाएका छन् । ती मध्ये महिला २५७ र पुरुष २६७ जना रहेका छन् । वडा नं १५ स्थित पुर्वाञ्चल ज्ञान चक्षुस्थित खोप केन्द्रमा ६५४ जनाले खोप लगाएकोमा ३६५ जना महिला र २८९ जना पुरुष छन् । सबैभन्दा कम धरान २० स्थित विष्णुपादुका खोप केन्द्रमा ८८ जनाले मात्र मंगलबार खोप लगाएका छन् । ती मध्ये ३७ जना महिला र ५१ जना पुरुष रहेका छन् ।