धरान: धरानको वडा नम्बर १६ को कार्यालयमा चोरी गर्ने समुह मध्येका २ जना पक्राउ परेका छन् ।

चोरीको सामानहरु दुहबीमा बिक्री गर्न पुगेको बेला उनीहरु पक्राउ परेका हुन् । ईलाका प्रहरी कार्यालय धरानका अनुसार धरान १ का अटो चालक शंकर साह र सन्तोष भुजेल पक्राउ परेका छन् । चोरीमा संलग्न अन्य २ जना भने अझै फरार छन् । फरार हुनेहरु धरान ६ र धरान १७ का दुई युवा छन् । पक्राउ परेकाहरुबाट चोरी भएको केही सामानहरु पनि भेटिएको प्रहरीले जनाएको छ । दुई जना पक्राउ परेका छन्,अरुको पनि खोजी गरिरहको छौं, प्रहरी निरीक्षक हेमराज ओलीले भने । 

वडा नं १६ का अध्यक्ष दिलकुमार गिरीका अनुसार राती २ जना गेट फुटाएर भित्र पसेको र अन्य २ जना बाहिर मान्छे हेर्न बसेको खुलेको छ । शुक्रबार राती वडा कार्यालयको ३ वटा कोठाको चाबी रडले फुटाएर सामानहरु चोरेका थिए । उनीहरुले वडा सचिव, स्वास्थ्य शाखा र सभा हलको चाबी फुटाएर विभिन्न सामानहरु चोरी गरेका थिए । 

अध्यक्ष गिरीका अनुासर २ सेट कम्प्युटर, मल्टिप्लक २ थान, कपी १ दर्जन, पेन्सिल २ दर्जन, सिटामोल १५ बट्टा, जुकाको औषधी १ बट्टा, पिपिई सेट १ थान, मास्क १० प्याकेजलगायत चोरी गरेका थिए । यसअघि चोरी भएको भनिएको प्रिन्टर भने कोठाको एउटा कुनामा भेटिएको अध्यक्ष गिरीले जानकारी दिए । उनका अनुसार सामान चोरी गरिसके पछि एकापसमा बाँडेको पनि खुलेको छ ।