धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा २ जना कोरोना संक्रमितको मृत्यु भएको छ। 

मृत्यु हुनेमा एक जना धरानकी महिला छिन् भने अर्का इटहरीको वृद्ध पुरुष छन् । प्रतिष्ठानका सहप्रवक्ता डा.चुडामणी पोखरेलका अनुसार धरान १७ की ५७ बर्षीया महिलाको आइतबार मध्याह्न १२ बजे मृत्यु भएको हो । मधुमेहको दीर्घरोगी पनि रहेकी मृतकलाई साउन १४ गते संक्रमण पुष्टि भएको थियो भने १५ गते कोभिड अस्पतालमा भर्ना गरिएको थियो । 

यसैगरि, बिहान १० बजेर ४५ मिनेटमा इटहरी १ का ७८ बर्षीय वृद्धको पनि मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । उच्च रक्तचापका विरामी रहेका वृद्धलाई साउन २२ गते संक्रमण पुष्टि भएको थियो । उनलाई सोही दिन प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो । मृतक दुवैको शव नियम अनुसार व्यवस्थापन गरिएको पनि प्रतिष्ठानले जनाएको छ ।