विराटनगर: डेन्टल चिकित्सकहरूको संस्था नेपाल डेन्टल एसोसिएसन मोरङको अध्यक्षमा डा. प्रेक्षा दली निर्वाचित भएकी छिन् ।
अध्यक्षका प्रत्यासी डा.नुतन नौलाखेसँग बराबरी मत भएपछि डा. प्रेक्षा गोलाप्रथाबट निर्वाचित भएकी हुन् । विराटनगरमा शनिबार सम्पन्न भएको निर्वाचनमा डा. प्रेक्षा र उनकी प्रतिस्पर्धी डा. नुतनले समान २४/२४ मत ल्याएकी थिइन् । एसोसिएसनमा ५० जना सदस्य छन् । तर, मत भने ४८ मात्र खसेको थियो । दुई जना सदस्य उपस्थित भएनन् । डा. प्रेक्षा र डा. नुतनले बराबरी मत पाएपछि गोला प्रथाबाट अध्यक्ष चुन्ने निर्वाचन समितिले निर्णय गरेको थियो । सोही अनुसार डा. प्रेक्षा गोलाप्रथाबाट नेपाल डेन्टल एसोसिएसन मोरङको दुई वर्ष कार्यकालको लागि अध्यक्षमा निर्वाचित भएकी हुन् । डा. प्रेक्षा यसअघि पनि एसोसिएसनको कोषाध्यक्ष भइसकेकी थिइन् ।
विगतमा भने सर्वसम्मतरुपमा एसोसिएसनको नयाँ नेतृत्व चयन हुँदै आएको थियो । अन्य पदमा सर्वसम्मतरूपमा पदाधिकारी र कार्यसमिति चयन भएका थिए । एसोसिएसनको उपाध्यक्षमा डा. बिवेक सिंह, महासचिवमा डा. मिरा आचार्य, कोषाध्यक्षमा डा. पवन मेहता, सह–सचिबमा डा. विशालराज जोशी सर्वसम्मत चयन भएका छन् । यस्तै सदस्यहरू डा. प्राचि भगत, डा. निलेश कुमार देव, डा. अमिन कुमार सिंह र डा. आदित्य साह पनि सर्वसम्म रूपमा चयन भएका छन्।
एसोसिएसनको नवनिर्वाचित अध्यक्ष डा. प्रेक्षा दलीले सबै डेन्टल चिकित्सकहरूलाई समेटर अगाडि बढ्ने बताइन् । उनले नयाँ सदस्य विस्तार गर्दै चिकित्सकहरूको हकहितमा आफू लाग्ने बताइन् । ‘लामो इतिहास बोकेको नेपाल डेन्टल एसोसिएसन रहेको छ । अहिलेसम्म समाजमा परिचित हुन सकेको छैन,’ डा. प्रेक्षाले भनिन्,‘नेतृत्वमा आएको छु । सम्पूर्ण डेन्टल चिकित्सकहरूको हकहितमा सँधै लाग्छु,’ उनले भनिन् । डा. प्रेक्षाले सचेतना अभियान पनि संचालन गर्ने बताइन् । ‘अहिले पनि डेन्टलमा आएका जुनियर डाक्टरहरु छन् । उनीहरूलाई एसोसिएसनमा ल्याउन पहल र प्रयत्न गर्नेछु,’ उनले भनिन्, ‘नयाँ पुस्ताका डाक्टरहरूलाई पनि मोटिभेट गरेर यस संघमा ल्याउन पहल र प्रयत्न गर्नेेछु ।’