धरान: धरान उपमहानगरपालिकाले समुदायस्तरमा कोरोना संक्रमणलाई न्युनीकरण गर्ने उद्देश्यले धरान उपमहागनरपालिका मातहतका सबै स्वास्थ्य संस्थाहरुमा वृहतरुपमा एन्टिजेन परिक्षण गर्ने भएको छ ।
उपमहानगरपालिकाले महाअभियान नामकरण गरेर भोली सोमबारदेखि शुरु गर्न लागेको एन्टिजेन परिक्षणको लागि सबै स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीहरुलाई आइतबार तालिम दिएको छ । स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार एक स्वास्थ्य संस्थाबाट २ जनाको दरले तालिम दिइएको छ । धरानको विभिन्न वडामा रहेका स्वास्थ्य संस्थाहरुबाट नै एन्टिजेन परिक्षण गरिने उनले बताए । कोरोना संक्रमणको आशंका वा लक्षण भएकाहरुलाई सहजरुपमा परिक्षणको व्यवस्था गरिएको उनको भनाई छ । 'हामीले महाअभियान नामकरण गरेका छौं, जुन जुन वडामा हाम्रो स्वास्थ्य कार्यालय छ, त्यहीबाट एन्टिजेन परिक्षण गछौं, 'मेहताले भने ।
धरानको वडा नं १, ४, ५, ६, ८, ११, १३, १४, १५, १६, १७ र २० मा उपमहानगर अन्र्गतको स्वास्थ्य संस्थाहरु छन् । यसअघि भने उपमहानगरपालिकाको टिमले मात्र धरान ८ स्थित सभागृहमा एन्टिेजन परिक्षण गर्दै आएको थियो । सभागृहमा हुने एन्टिजेन परिक्षण अबदेखि हुुनेछैन । त्यहाँ स्वास्थ्य महाशाखाले पिसिआर मात्र परिक्षण गर्ने प्रमुख मेहताले जानकारी दिए । उनका अनुसार आइतबार, मंगलबार र बिहिबार सभागृहमा पिसिआर परिक्षण हुनेछ भने सोमबार, बुधबार र शुक्रबार रेड जोन एरिया पहिचान गरेर टोल टोलमा पिसिआर परिक्षण गर्ने उपमहानगरले जनाएको छ । 'कुन वडामा बढी संक्रमित देखिएको छ, त्यहाँ पुगेर पिसिआर पनि गछौं, 'उनले भने ।
यसबाहेक धरानको बढी भिडभाड हुने क्षेत्रहरु भानुचोक, बुद्धचोकलगायत ठाउँहरुमा पनि परिक्षण गरिनेछ । यस्तै, होम आइसोलेसनमा बसेकाहरुलाई दिइरहेको परामर्शलाई अझ प्रभावकारी बनाउने र संक्रमितहरुलाई मास्क, सेनिटाइजर, तागत बढाउने औषधीहरु पनि प्याकेजमा वितरण गर्नेबारे योजना बनिरहेको उनले बताए ।