धरान: धरानको विभिन्न सडकखण्डहरु जीर्ण हुदै खाल्डाखुल्डी बनेर सवारीसाधन चलाउन असुरक्षित भएको भन्दै टेम्पो, सफारी चालक तथा व्यवसायीहरुले तत्काल मर्मत गर्न माग गरेका छन् ।

मंगलबार हर्क साम्पाङको नेतृत्वमा धरान उपमहानगरपालिकामा ज्ञापन पत्र बुझाउदै चालक तथा व्यवसायीहरुले यस्तो माग गरेको हुन् । धरान ८ स्थित पुरानो ट्राफिक कार्यालय(हाल बोनस मल)देखि वडा नं १७ रेल्वे सम्मको सडक खण्डमा खाल्डाखुल्डी परेर सवारीसाधनहरु चलाउन कठिन भइरहेको चालकहरुको भनाई छ । यही सडक खण्ड हुदै विरामी बोक्ने एम्बुलेन्स पनि वीपी प्रतिष्ठान जानुपर्ने हुँदा सडकको जीर्ण अवस्था तथा खाल्डखुल्डीले धेरै समस्या भइरहेको चालकहरुको गुनासो छ ।

यस्तै, धरान १५ सदन स्कुलदेखि महादेव चोकसम्म, धरान १२ पानीटंकीदेखि नारायण चोक हुदै वीपी प्रतिष्ठान जाने सडकसम्म, धरान १० सैनिक चोक क्षेत्रको शहरी सडकहरुमा पनि अत्यधिक खाल्डा खुल्डी हुँदा दुर्घटनाको अत्यधिक जोखिम बढेको चालकहरुको भनाई छ । ती खाल्डाखुल्डीले सडकको स्वरुप बिगारेको भन्दै उनीहरुले अबिलम्ब निरीक्षण गरेर मर्मत सम्भार गराउन माग गरेका छन् ।

tempo-road1

नेतृत्वकर्ता हर्क साम्पाङले सडकको दुरावस्थाले चालकहरुलाई धेरै गाह्रो भइरहेको कारण तत्काल मर्मत गर्न माग गरिएको बताए । उनले व्यवसायीहरुसँग कर उठाएर मात्र नहुने भन्दै सडकमा सहजरुपमा सवारीसाधन चल्ने अवस्था सृर्जना गर्नुपर्ने पनि बताए । ‘खाल्डा खुल्डीमा कुदाउदा दुर्घटना भइरहेको छ । भोलीको दिन कसैको ज्यान गयो भने जवाफदेही को हुने ? कि नगरपालिका जवाफदेही हुनुपर्छ, कि सम्बन्धित निकायलाई मर्मत गर्न लगाउनुपर्छ,’ साम्पाङले भने । 

ज्ञापन पत्रमा ७१ जनाले हस्ताक्षर गरेका छन् । ज्ञापन पत्र बुझ्दै मेयर तिलक राईका स्वकिय सचिव राजेशमान श्रेष्ठले धरानको बाटोको चिन्ता सबैलाई भएको भन्दै चासो र चिन्ता लिएर उपमहानगरपालिकामा आएको भन्दै धन्यवाद पनि दिएका थिए । साथै उनले ध्यानाकर्षण पत्र मेयरलाई हस्तान्तरण गर्ने र यथासिघ्र मर्मतको लागि पहल गर्ने पनि बताएका थिए । 

tempo-road2