धरानः धरानमा कोरोना रोकथाम तथा नियन्त्रण गर्न स्मार्ट लकडाउनलाई थप प्रभावकारी बनाउने भएको छ । 

उपमहानगरपालिकामा मेयर तिलक राईको अध्यक्षतामा बसेको सर्वपक्ष्ीाय बैठकले धरानका केही स्थान तथा तरकारी पसलहरुमा मानिसहरुको भिडभाड बढी देखिएको भन्दै स्मार्ट लकडाउनलाई थप प्रभावकारी बनाउने निर्णय गरेको हो । कोरोना संक्रमणलाई न्यूनिकरण गर्न गत भदौ ३ गतेको निर्णय अनुसार कार्यन्वयनबारे पनि समिक्षा भएको थियो । धरान उपमहानगरपालिका, उद्योग वाणिज्य संघ, यातायात व्यवसायी, प्रहरी तथा प्रशासन कार्यालयको संयूक्त रुपमा अनुगमन गर्न निस्किएको र केही हदसम्म यसको कार्यन्वयन भएको बैठकले निष्कर्ष निकालेको छ । 

अनुगमनको क्रममा केही स्थान र व्यवसायमा समस्या देखिएको, तरकारी व्यवसायमा भिडभाड बढी देखिएकोले समय बढाउनुपर्ने देखिएकोबारे छलफल भएको थियो । बैठकले स्मार्ट लकडाउनलाई थप प्रभावकारी बनाउन प्रचार प्रसारलाई थप प्रभावकारी बनाउने र सुरक्षा व्यवस्थालाई थप मजबुत बनाउने निर्णय गरेको छ । 

बैठकमा मेयर राईले धरानमा कोरोना संक्रमणदर घटेको अवस्था नरहेको बताए । धरानको १३ वटा स्वास्थ्य केन्द्रबाट निरन्तर रुपमा एन्टिजेन परिक्षण भईरहेको, धरान ८ स्थित सभागृहमा पिसिआर पनि परिक्षण भईरहेको मेयर राईले जानकारी गराएका थिए । उनले सात दिनको अवधिमा उद्योग वाणिज्य संघ, यातायात व्यवसायी, प्रहरी तथा प्रशासन लगायतले अत्यन्तै राम्रो भूमिका खेलेको भन्दै प्रशंसा समेत गरे ।