धरान: धरान उपमहानगरपालिकाको १ नम्बर वडा कार्यालयको आफ्नै भवन बन्ने भएको छ । 

शुक्रबार एक कार्यक्रमबीच १ नम्बर प्रदेशसभाका प्रतिपक्षी दलका नेता एवं कांग्रेस सुनसरी जिल्ला सभापति राजिव कोईरालाले भवनको शिलान्यास गरेका छन् । मेयर तिलक राईको अध्यक्षतामा आयोजित कार्यक्रममा उपमेयर मञ्जु भण्डारीले उपमहानगरपालिकाको विकासमा नागरिकको ठूलो भूमिका रहेको बताइन् । उनले उपमहानगरपालिकाले जनतालाई सुविधा दिनका लागि चेक हस्तान्तरण, राजस्व लगायत कार्य वडाबाटै सुरु गरिएको पनि बताइन् ।

मेयर राईले वडा कार्यालयको भवन निर्माणपछि जनतालाई सेवा दिन थप सहज हुने बताए । क्षयरोग कार्यालय भवनलाई समेत व्यवस्था गर्नेगरि वडा कार्यालय भवन निर्माण गर्न लागिएको मेयर राईले जानकारी दिए । जिल्ला समन्वय समितिबाट अगाडी नै बजेट आएको भए समयमै वडा कार्यालय भवन निर्माण मेयर राईको भनाई थियो । उनले समयमै भवन निर्माण सम्पन्न गर्न ठेकेदार कम्पनीलाई आग्रह पनि गरे । 

उपमहानगरपालिकाका वरिष्ठ ईञ्जिनियर सुरज श्रेष्ठले धरानको २० वटा वडामध्ये ६ वटा वडाको भवन बन्न बाँकी रहेको जानकारी दिए । उनले वडा नं. १, २, ३, ४, ११ र १२ को भवन बन्न बाँकी रहेको बताए । उनका अनुसार उक्त भवन निर्माणका लागि ठेकेदार कम्पनी दिपादिल कन्सट्रक्सनसँग (भ्याट पि. एस र कन्टिजेन्सिस समेत) १ करोड २३ लाख ५९ हजार १ सय ७६ रुपैयाँ ९७ पैसामा सम्झौता भएको छ । उक्त वडा कार्यालय भवन जिल्ला समन्वय समितिको ५० लाख रुपैयाँ र नगरपालिको ७३ लाख ५९ हजार १ सय ७६ रुपैयाँ ९७ पैसामा साढे दुई तलाको बन्नेछ । यद्यपी, भवन पाँच तलासम्म बनाउन सकिनेछ । ठेकेदार कम्पनी दिपादिल कन्सट्रक्सनसँग २०७९ वैशाख १ गतेसम्म भवन सम्पन्न गर्ने सम्झौता भएको छ ।