धरान: धरान उपमहानगरपालिकाको वडा नं. १९ देखि दक्षिणमा पर्ने रामधुनी नगरपालिका जोड्नका लागि हरियाली मार्ग सडक निर्माण गरिने भएको छ ।

धरान उपमहानगरपालिकाका मेयर तिलक राईको अध्यक्षतामा शुक्रबार रामधुनी नगरपालिकाका मेयर जयप्रकाश चौधरी र डिभिजन वन कार्यालय प्रमुख दानबहादुर श्रेष्ठसहितको त्रिपक्षिय छलफलले छोटो दुरीको हरियाली मार्ग सडक निर्माण गर्ने समझदारी भएको हो । उक्त सडकको लागि संघीय सांसद जयकुमार राईले बजेट समेत विनियोजन गरेका छन् । यो बाटोको दुरी ७ किलोमिटर भन्दा बढी रहेको छ भने १५ फिट चौडाई छ । यो बाटोलाई जय मार्ग नामकरण गरिएको छ । 

धरान–रामधुनी जोड्ने हरियाली मार्ग र मदनभण्डारी सहायक राजमार्ग जोड्ने छोटो दुरीको सडक हुनेछ भने सुनसरीको दक्षिणी भेगमा उत्पादन भएको कृषि उपजहरु धरानसम्म ल्याउन पनि छिटो र सहज हुनेछ । रामधुनी नगरपालिका लगायत तल्लो भेगका मानिस, विरामी बोक्ने एम्बुलेन्सलाई पनि वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको लागि आउन ठुलो राहत हुनेछ । हाल यो सडक ट्रयाक सिंगल लेन ग्राभेल रहेको छ । 

यो सडक धरान उपमहानगरपालिका र रामधुनी नगरपालिकाले समन्वय गरेर निर्माण गर्ने भएको हो । उक्त सडक सामुदायिक वन क्षेत्र र राष्ट्रिय वन क्षेत्रमा समेत पर्ने भएकाले त्यसको स्तर उन्नती गर्न दुबै नगरपालिकाको कार्यपालिकाबाट निर्णय गरिने भएको छ । दुवै नगरपालिकाको प्राविधिक समेत रहेको एक कार्यदल गठन गरी सामुदायिक वनहरु, डिभिजन वन कार्यालय र अन्य सरोकारवाला निकायहरुसँग समेत समन्वय गरि अघि बढ्ने निर्णय गरेको छ । साथै, वनक्षेत्र भएकोले नगरपालिकाबाट आईई समेत गराउने निर्णय भएको छ ।