धरान ः धरानमा सडक छेउछाउमा खाजा बिक्री गर्ने स्ट्रिट फुड व्यवसायीहरुलाई खाद्य स्वच्छता अभिवृद्धि गराइएको छ ।

खाद्य प्राविधिक तथा गुण नियन्त्रण कार्यालय सुनसरीको आयोजना तथा धरान उपमहानगरपालिकाको सह–आयोजनामा उनीहरुलाई दुई दिने खाद्य स्वच्छता अभिवृद्धि कार्यक्रम गराइएको हो । सुनसरी उद्योग वाणिज्य संघको हलमा आयोजित कार्यक्रम शुक्रबार र शनिबार भएको थियो । कार्यक्रममा धरानका स्ट्रिट फुड सञ्चालन गर्ने ६५ जना व्यवसायीहरु सहभागी थिए ।

उपमहानगरपालिकाका अनुगमन अधिकृत वेद प्रसाद सापकोटाका अनुसार केन्द्रीय प्रविधि क्याम्पस हात्तिसार विज्ञ, खाद्य प्राविधिक तथा गुण नियन्त्रण कार्यालय विराटनगरका प्राविधिक र खाद्य प्राविधिक तथा गुण नियन्त्रण कार्यालय सुनसरीका प्रमुखले दुई दिन सहजिकरण गरेका थिए । शनिबार कार्यक्रमको समापन समारोहमा मेयर तिलक राईले सहभागीहरुलाई प्रमाण पत्र वितरण गरेका थिए । मेयर राईले समापन कार्यक्रमलाई सम्बोधन गर्दै उपभोक्ताको स्वास्थ्यमा असर नपर्ने गरी स्वच्छ खाद्यवस्तु विक्री वितरण गर्न आग्रह गरेका थिए । उनले सबै व्यवसायीहरुले विषेश गरेर सरसफाईमा ध्यान दिन पनि जोडदिए । 

साथै उनले सडक छेउछाउ व्यवसाय सञ्चालन गर्दा नगरपालिकामा अनिवार्य दर्ता गर्न पनि आग्रह गरेका थिए । कुनै पनि बेला उपमहानगरपालिकाले छड्के अनुगमन गर्न सक्ने बताउँदै मेयर राईले खाद्य वस्तुमा स्वच्छता नपाएको, सरसफाईमा ध्यान नदिएको भेटिए व्यवसायीलाई कार्बाही हुने पनि बताए ।

कार्यक्रममा उपमहानगरपालिकाका राजस्वशाखा प्रमुख तथा सुचना अधिकृत खगेन्द्र खतिवडाले व्यवसाय दर्ता गर्ने बारेमा जानकारी समेत गराएका थिए । अनुगमन अधिकृत सापकोटाका अनुसार दुई दिनको अवधिमा खाद्य पदार्थमा के के सामाग्री मिसावट गर्ने ? पकाउने पदार्थमा रङ्गको प्रयोग किन गर्नु हुदैन ? कुन कुन सामग्रीहरु प्रयोग गरेर विक्री गर्ने ? ठेलाको आकार तथा प्रकार कस्तो हुनुपर्छ ? सरसफाई कसरी गर्ने ? लगायत विषयमा अभिवृद्धि कार्यक्रम दिईएको थियो ।