मोरङः विरामी तथा आफन्तहरुलाई विभिन्न अस्पतालबारे भ्रम फैलाएर सेटिङमा कमिशन खाने मेडिकल विचौलियाविरुद्ध विराटनगरमा प्रहरीले अप्रेशन जारी राखेको छ । 

यसैक्रममा थप ५ जना विचौलिया पक्राउ परेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । पक्राउ पर्ने विचौलियाहरुमा विराटनगर वडा नं.८ का २१ को सुनिल राय, वडा नं ११ का २२ बर्षीय रोहित साह, २० बर्षीय विवेक साह, सुनसरीको ईनरूवा १ का २० बर्षीय विनोद मेहता र सप्तरी राजविराज ९ का २३ बर्षीय सारन्स कुमार चौधरी रहेको मोरंग प्रहरी प्रवक्ता एवं डिएसपी दिपक श्रेष्ठले जानाकरी दिए ।

उनीहरुले विराटनगरमा रहेका विभिन्न अस्पतालहरूमा उपचार गराउन आएका विरामी तथा विरामीका आफन्तहरूलाई विचौलियाहरुले भेट गर्ने र 'यहाँ डक्टर राम्रो छैन, यहाँका डक्टर अन्त अस्पतालमा सरूवा भई सकेको, यो अस्पतालमा कोरोना धेरै छ, उपचार राम्रो छैन, औषधी राम्रो छैन' भनेर अफावाह फैलाएर भड्काउने गरेको प्रहरीको भनाई छ । 

विचौलियाहरुले एउटा अस्पतालमा उपचार गराउन आएका विरामीलाई अनावश्यक भ्रम फैलाएर आफ्नो सम्पर्कमा भएको अस्पताल वा क्लिनिकमा उपचारको लागि लैजाने गरेका छन् । साथै, आफ्नो सेटिंगको फार्मेसीमा औषधी खरिद गर्न लगाउने र कमिशन लिने गरेका छन् । यस्ता विचौलियाहरुले सर्वसाधारण नागरिकहरुलाई दुःख दिने गरेको कारण अनुसन्धन गरि पक्राउ गरिएको मोरंग प्रहरीको भनाई छ । यसअघि पनि प्रहरीले एक दर्जन बढी विचौलियाहरुलाई पक्राउ गरिसकेको छ ।