धरान: नेकपा एमालेको विवाद मिलाउन प्रदेश १ मा पार्टीले गठन गरेको कार्यदलले २०७५ जेठ २ गतेअघिकै नेतृत्व स्थापित गर्ने निर्णय गरेपनि सुनसरी जिल्लामा भने विवाद यथावत रहने देखिएको छ ।

मुख्यमन्त्री एवं प्रदेश १ इञ्चार्ज भीम आचार्य, स्थायी कमिटी सदस्य सुवास नेम्बाङसहितको कार्यदलले हिजो बिहिबार १४ वटै जिल्लामा पुरानै कमिटीको नेतृत्व स्थापित गर्ने निर्णय गरेको थियो । जसअनुसार सुनसरीमा रमेश बस्नेत नेतृत्वको कमिटीले आधिकारिता पाएको छ । बस्नेत र उनी नेतृत्वको कमिटी माधव नेपाल पक्षको भएको कारण सुनसरीमा पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षको जिल्ला कमिटी गठन भएको थियो। उक्त कमिटीको अध्यक्ष रेवतीरमण भण्डारी थिए । कार्यदलले १० बुँदे सहमति कार्यान्वयन गर्ने सन्दर्भमा बस्नेत नेतृत्वको कमिटीलाई आधिकारिकता दिने निर्णय गरे पनि भण्डारी नेतृत्वको कमिटीले भने त्यसमा गम्भीर असहमति प्रकट गरेको छ ।

आज (शुक्रबार) भण्डारीको अध्यक्षमा जिल्ला कमिटीको पदाधिकारी बैठक बसेर २०७५ जेठ २ भन्दा अघिको सुनसरी जिल्ला कमिटी विधानको व्यवस्था अनुसार समयमा अधिवेशन गर्न नसकेको कारण अवैधानिक रहेको जिकिर गरेको छ । यस्तै, २०७७ फागुनमा बस्नेत अध्यक्ष रहेको समानन्तर कमिटी विस्तार गरेर विधा र पद्दती विपरीत कमिटी गठन गरेको, विपक्षी गठबन्धनसँग सहकार्य गरेर विपी प्रतिष्ठान धरानको बिषयमा आन्दोलन गरिरहेको लगायत पार्टी पक्षधरता नदेखिएको अवस्था रहेको बैठकले विश्लेषण गरेको छ ।

कार्यदलले जिम्मेवार पदाधिकारी, केन्द्रीय कमिटीसँग कुनै राय, परामर्श विना कुनै खास नेताको आग्रहलाई अन्तिम सत्य ठानेर कुनै निर्णय भएमा त्यस्तो निर्णयले सुनसरीमा दुर्घटना हुने खतराप्रति पनि बैठकले सचेत गराएको छ । साथै, २०७७ पुष ५ गते पछि भएको पार्टीको कामको विस्तार, सुदृढीकरणलगायतलाई वेवस्ता गरि भएको निर्णय स्वीकार नगर्ने बारे पार्टी केन्द्रीय अध्यक्षलाई जानकारी गराउने बैठकले निर्णय गरेको जनाएको छ । 

उक्त कमिटीका संगठन विभाग प्रमुख योग्यराज खड्काले कार्यदलले जुन ठाउँमा पार्टी मिलाउनुपर्ने हो, त्यहाँका सम्बद्ध अगुवा नेता, कार्यकर्ताहरुलाई थाहै नदिई निर्णय गरेमा स्वीकार गर्न नसकिने प्रतिक्रिया दिए । ‘पार्टी केन्द्रले जुन कार्यदल बनायो, त्यो कार्यदलले सम्बन्धित जिल्लामा गएर सम्बन्धित पक्षहरुसँग बसेर पार्टीको नीति, जनवादी छलफलको आधारमा निर्णय गर्नुपर्ने हो । त्यो गरिएन, एकाधिकारपुर्णढंगले निर्णय गरियो भने यसको खिलापमा अघि बढ्छौं,’खड्काले भने,‘जिल्लामा १२३ वडा कमिटीहरु बनेको छ, पालिकास्तर र जनसंगठनहरुको कमिटी छ, हाम्रो पार्टीको गतिविधिहरु निरन्तर जारी रहन्छ ।’

नेता खड्का अनुसार शनिबार जिल्ला कमिटी सचिवालयको बैठक बसेर अध्यक्ष भण्डारीको नेतृत्वमा एक टोली काठमाण्ठौं जानेछ । उक्त टोलीले पार्टी अध्यक्ष, महासचिवलगायत नेताहरुलाई भेटेर भण्डारी नेतृत्वको कमिटीले हालसम्म एमाले पार्टीलाई जीवन्तता दिएकोबारेमा जानकारी गराउने योजना रहेको खड्काले बताए । 

UML