धरान: भेरो सेल र कोभिशिल्ड खोपको दोस्रो मात्रा लगाउन छुटेकाहरुलाई लक्षित गरि धरानमा पुनः एक दिन खोप कार्यक्रम हुने भएको छ ।

धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाका अनुसार यही भदौ २३ गते बुधबार धरानमा एक दिन खोप कार्यक्रम राखिएको छ । स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार धरान १ छाताचोकमा रहेको पुरानो अस्पताल हाताभित्रको स्वास्थ्य चौकीमा र धरान ७ स्थित सिद्धि नेवाः परिषदको भवनमा खोप केन्द्र रहनेछ । पुरानो अस्पताल खोप केन्द्रमा भेरो सेलको दोस्रो मात्र लगाउन छुटेकाहरुलाई खोप लगाइनेछ भने सिद्धि नेवाः परिषदमा कोभिसिल्डको दोस्रो मात्रा छुटेकाहरुलाई एस्ट्राजेनेका खोप लगाइने मेहताले जानकारी दिए । दुवै स्थानमा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म खोप कार्यक्रम सञ्चालन हुनेछ । 

यसअघि धरानमा भदौ १३ र १४ गते कोभिसिल्डको दोस्रो मात्रा एस्ट्राजेनेका ६ हजार ४ सय ३२ जनाले लगाएका थिए । स्वास्थ्य महाशाखाका अनुसार यो खोपको दोस्रो मात्रा लगाउनुपर्ने संख्या भने ७ हजार ७ सय ४१ जना थियो । अझै १ हजार ३ सय ९ जनाले दोस्रो मात्रा लगाउन छुटेको देखिन्छ । यस्तै, भदौ १५ र १६ गते धरानमा भेरो सेलको दोस्रो मात्रा लगाउनेहरुको संख्या १२ हजार ९ सय २० जना रहेको छ । उक्त खोप लगाउनुपर्ने संख्या भने १५ हजार ३ सय ११ रहेको छ । अझै २ हजार ३ सय ९१ जनाले दोस्रो मात्रा लगाउन बाँकी रहेको देखिन्छ । 'अझै कोभिशिल्ड र भेरो सेलको दोस्रो मात्रा लगाउन बाँकी रहेको संख्या कुल ३७ सय देखिन्छ । त्यसैले बुधबार पहिलो मात्रा लगाएको खोप कार्ड लिएर आउन सबैलाई आग्रह गछौं,'मेहताले भने ।