विराटनगर: प्रदेश १ मा पछिल्लो २४ घण्टामा २०७ जनामा कोरोना संक्रमित थपिएका छन् ।
सामाजिक विकास मन्त्रालयका अनुसार ५१४ जनाको पीसीआर परीक्षण गर्दा ११७ जनामा संक्रमण पुष्टि भएको हो भने ५४४ जनाको एन्टिजेन परीक्षण गर्दा ९० जनामा संक्रमण देखिएको हो । पीसीआर परीक्षणका आधारमा मोरङमा ५२, झापामा ३२, सुनसरीमा २६, धनकुटामा २, खोटाङ, इलाम, पाँचथर, ताप्लेजुङ र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएको हो ।
मोरङको विराटनगरमा ३७, सुन्दरहरैचा र लेटाङमा ४–४, उर्लाबारीमा ३, केराबारीमा २, सुनबर्षी र ग्रामथानमा १–१ जनामा संक्रमण देखिएको छ भने झापाको दमकमा ११, भद्रपुरमा ९,विर्तामोडमा ६, कचनकवलमा २, हल्दिबारी, शिवसताक्षी, कमल गाउँपालिका र स्थानीय तह नखुलेका १–१ जना छन् । यस्तै, सुनसरीको इटहरीमा १९, धरानमा ६ र बराहक्षेत्रमा १, धनकुटाको धनकुटा नगरपालिका र पाख्रिबासमा १–१, खोटाङको खोटेहाङ, इलामको चुलाचुली, पाँचथर, ताप्लेजुङ र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा पछिल्लो चौबिस घण्टामा २८८ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १७९ जना महिला र १०९ जना पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३ पुरुषको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।