धरान: संखुवासभाको मादी नगरपालिका १ मा एकै परिवारका ६ जनाको हत्या भएको घटनाका आरोपीलाई प्रहरीले सार्वजनिक गरको छ । 

घटना भएको सातौं दिनमा आज प्रहरीले चैनपुरमा पत्रकार सम्मेलन गर्दै अभियुक्त २५ बर्षीय लोकबहादुर कार्कीलाई सार्वजनिक गरेका हुन् । अभियुक्त कार्की मृतक तेजबहादुरका भतिजा हुन् । प्रदेश प्रहरी प्रमुख एवं डिआइजी अरुणकुमार बिसीले अभियुक्त कार्कीले सुनियोजित नभै आवेगमा आएर ६ जनाको हत्या गरेको जानकारी दिए । मृतक तेजबहादुरले अभियुक्तलाई गाली गर्ने, होच्याउने गरेको कारण उनीप्रति वितृष्णा र घृणा भएको र घटनाको दिन बिहानै खेताला बोलाउन गएर अभियुक्तको घरबाट फर्कदै गर्दा अचानक आवेगमा आएर हत्या गरेको डिआइजी बिसिले बताए ।

डिआइजी बिसिका अनुसार अभियुक्त कार्कीको मानसिक अवस्था पनि विक्षिप्त भएको पाइएको छ । उनले दाउरा (चिर्पट) ले प्रहार गरेर हत्या गरेको उनले बताए । ‘अनुसनधानको क्रममा घटना प्रकृति हेर्यौं, घटनास्थल अध्ययन गर्यौ, दाजुभाईको अंशबण्डा, पारिवारिक झैझगडा छ छैन सबै हेर्यौं । अनुसन्धान खुम्चदै आएर यो एउटा आवेगमा आएर, तत्काल भएको घटना हो भन्नेमा पुगेका छौं,’डिआइजी बिसिले भने,‘यसमा निज लोकबहादुरले घटना सुनियोजित प्लान गरेको देखिदैन । उसको मनमा तेजकुमार कार्कीप्रतिको वितृष्ण, घृणा भएको । सधै मलाई गाली गर्ने, पागल भनेर मलाई होच्याउने, हेला गर्ने, केही गर्न सकिनस्, केही कमाउन सकिन् भनिरहने गरेको कारण यो कुराहरु मनमा गडेको देखिन्छ । त्यो हिसाबले घटनाको त्यो दिन बिहानै पनि खेताला बोलाउन गएको बेला अचानक आवेशमा आएर घटना घटाएको देखिन्छ ।’ 

लोकबहादुरप्रति यसरी सोझियो अनुसन्धान

डिआइजी बिसिका अनुसार घटना भदौ २१ गते बिहान ६ देखि साढे ६ बजेको बीचमा भएको खुलेको छ । प्रहरीलाई भने साढे ९ बजे मात्र घटनाबारे खबर भएको थियो । वृद्धा आमा पार्वता कार्की, छोरा तेजबहादुर कार्की, बुहारी कमला कार्की, नातीनी बुहारी रञ्जना कार्की, पनाती ८ बर्षका विवेक र पनातिनी ५ बर्षकी गोमा कार्की गरि एकै परिवारको ६ जनाको चिर्पटले प्रहार गरि हत्या गरेको खुल्न आएको छ । घरमा भएका वृद्ध बुद्धमान कार्की मात्र जिवित थिए । 

विकट ठाउँ भएको कारण घटनास्थलमा राती मात्र प्रहरीको टोली पुगेको थियो । जिल्ला प्रहरी कार्यालयबाट डिएसपीको टोली, संघीय इकाई कार्यालय धरानबाट ट्याकर डगसहित एसपीको टोली, प्रदेश प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको नेतृत्वमा रिट टोली अनुसन्धानमा पुगेको थियो भने २३ गतेदेखि डिआइजी बिसि आफै घटनास्थलमा छन् । उनले यो घटना कसरी भयो भनेर विभिन्न कोणबाट विश्लेषण, अनुसन्धान गरेको बताए । ‘सम्भाव्य कुराहरु व्यक्तिगत रिसइबी, आवेग, सुनियोजित तरिका सबै कोणबाट फरक फरक शैलीबाट विश्लेषण गर्यौ । उक्त घटनालाई लुटपाट गर्ने खालको कुनै पनि भएको पाएनौं, बाहिरबाट कोही आएर घटना घटाएको पनि पाएनौं । मृतकले लगाएको सुनको गरगहना, घरमा सम्पत्ति, नगद सुनको गहनाहरु त्यही पायौं । घरधनीलाइ हस्तान्तरण गरेका छौं,’ उनले भने ।

अनुसन्धानकै क्रममा २५ बर्षका लोकबहादुर कार्कीप्रति अनुसन्धानको दायरा साघुरिदै गएपछि उनलाई  प्रहरीले ट्रयाक गर्न थालेको थियो । उनको बारेमा, घटनास्थलको बारेमा त्यहाँका व्यक्तिहरुसँग प्रहरीले जानकारी लिन थालेको थियो । विभिन्न टोली गठन गरेर आवश्यक जानकारीहरु लिदै गर्दा शंका बढ्दै गएर अनुसन्धान लोकबहादुर तिर केन्द्रीत भएको डिआइजी बिसिले बताए । ‘हामीले सोधपुछ गर्न थाल्यौ उनलाई । वैदेशिक रोजगारको लागि कतार, मलेसिया गएको खुल्न आयो । अन्तिम पटक विरामी भएर काम गर्न नसकेर फर्केको कुरा बुझ्यौं,’उनले भने,‘फर्केपछि गाउँघरमा गएको गतिविधि हेर्दा गर्दा एग्रेसिभ, भाईहरुसँग झैझगडा गर्ने गरेको कुरा अगाडि आए । उपचार गराएर फर्केको र औषधीहरु लिने गरेको पनि जानकारी पायौं ।’

यसकारण भयो हत्या

डिआइजी बिसिका अनुसार अभियुक्त कार्कीको हजुरबुबाले मर्ने बेलामा ६ जना मृतकमध्ये तेजबहादुरलाई आफ्नो परिवारको रेखदेखको जिम्मा दिएका थिए । ‘मेरो सन्तानहरु कमजोर अवस्था छ, स्याहार सुसार गर्ने तिमीहरुको जिम्मा’ भनेर अभियुक्तको हजुरबाले जिम्मा लगाएको बिसिले जानकारी दिए । 

अभियुक्त लोकबहादुर भने काम गर्न ज्यादै अल्छि गर्ने गरेको कारण तेजबहादुरले सम्झाउने मात्र नभै गाली गर्ने गरेकोले उनीप्रति अभियुक्तको मनमा नराम्रो छवि गडेको थियो । ‘काम गर्ने जागर नभएको, झर्कने र काम गर्न बोलाउदा नजाने गर्दा तेजकुमारले सम्झाउने, गाली गर्ने, त केही गर्दैनस्, विदेशबाट पनि सम्पत्ति कमाउन नसकिन् लगायत गाली गर्ने गर्दा त्यो कुरा लोकबहादुरको मनमा गडेको अवस्थामा अनुसन्धानको दौरानमा पायौं,’डिआइजी बिसिले भने ।

  घटनाको बिहान के भयो ?

घटनाको दिन खेतला लगाउने कार्यक्रम भएकोले तेजबहादुर खेताला लैजानको लागि उनी बिहानै अभियुक्त र भाईलाई बोलाउन घरमा गएका थिए ।  अभियुक्तको बुबा र भाई गाईलाई कुडो पकाएर खेतमा घाँस काट्न गएको अवस्थामा अभियुक्त एक्लै घरमा थिए । त्यसदिन अभियुक्त लोकबहादुर रातभरि नसुतेको, अनिद्रको अवस्था आफुलाई गाली गर्ने तेजबहादुर देखेपछि यो ठुलाबाउले मलाई धेरै नै गर्छ भेनर मनस्थिति अचानक फेरेर पछि पछि गएर दाउरा राखेको ठाउँबाट चिपर्ट बोकेर हिर्काएको डिआइजी बिसिले बताए । 

अभियुक्तले २, ३ पटक हिर्काएपछि तेजबहादुरले मलाई लोकेले मार्यो भनेर कराएका थिए । उनी कराएपछि श्रीमति र बुहारीले सुनेर घरबाट बाहिर निस्केका थिए । कान्लामा लडाएर कुट्दै गरेको अवस्थामा २ महिला खोल्सामा पुग्दा उनीहरुलाई पनि आक्रमण गरि हत्या गरेको डिआइजीले बताए । त्यो कराएको आवाज आउदा सँगसँगै पछाडि २ जना नाबालक बच्चाहरु पनि घरबाट निस्केका थिए । घटना देखेको कारण उनीहरुलाई पनि अभियुक्तले लखेटी लखेटी मारेका थिए । त्यसपछि तेजबहादुरको घर करिब ३०, ४० मिटर दुरीमा रहेको र अभियुक्त घरभित्र गएर हजुरआमा नाता पर्ने वृद्धा(तेजबहादुरकी आमा)लाई कुडो पकाईरहेको अवस्थामा कपाल समातेर टाउको भित्तामा बजारेर हत्या गरेको डिआइजी बिसिले बताए । ‘५ जनालाई मारेको हतियार चिपर्ट घरमा लगेर कुँडो पकाई रहेको अगेनामा हालेको र ऊ चुप लागेर बसेका थिए । केही हल्ला हुन थालेपछि पहिलो लाश तेजबहादुरको छ भन्दै हल्ला गर्ने लोकबहादुर नै हो,’डिआइजी बिसिले भने ।

pressrelease-madi-(1)pressrelease-madi-(2)