धरान: याक्थुङ लिम्बु समुदायका उद्यमी-व्यवसायीहरु संगठित भएका छन् । 

लिम्बु समुदायका उद्यमी, व्यवसायीहरुको हकहित, एकता, प्रगति, संरक्षण, प्रर्वद्धन तथजा विकासको लागि संगठित भएका हुन् । यसको लागि उनीहरुले याक्थुङ उद्यमी समाज गठन नामको संस्था नै दर्ता गरेका छन् । विपीन इवारम अध्यक्ष रहेको समाज जिल्ला प्रशासन कार्यालय सुनसरीमा गएको भदौ ३१ गते दर्ता गरिएको छ । उक्त समाजले सोमबार धरानमा पत्रकार सम्मेलन गर्दै देश विदेशमा रहेका लिम्बू समुदायका उद्योगी, व्यवसायीहरुलाई संस्थामा आवद्ध हुन आह्वानसमेत गरेको छ । 

limbu-entrepreneurs1

समाजले लिम्बू व्यवसायी तथा उद्यमीहरुलाई सफल बनाउन आर्थिक, प्राविधिक एव्ं व्यवसायिक तालिम तथा शिक्षाको माध्यमबाट जनचेतना र एकताको भावना अभिवृद्धि गर्दै स्वदेशमा नै उद्यम व्यवसाय गरि आर्थिक समृद्धिको लागि अभिप्रेरित गर्ने जनाएको छ । केन्द्रीय तदर्थ समितिका अध्यक्ष इवारमले लिम्बू उद्यमीहरुमा व्यवासयिकता, सिर्जनशीलता एवं उद्यमशीलताको विकास गर्ने संस्थाको उद्देश्य रहेको बताए ।

याक्थुङ लिम्बू उद्यमीहरुको साझा समस्या र चुनौतीहरुको समाधानको लागि यथोचित अध्ययन, अनुसन्धान गर्ने र भैपरी आउदा एक आपसमा सरसहयोग गर्ने पनि उद्देश्य रहेको अध्यक्ष इवारमले बताए । हाल केन्द्रीय तदर्थ समिति गठन भएको र भविष्यमा पुर्वका सबै ९ जिल्ला र उपत्यकाका ३ जिल्लामा पनि संस्था विस्तार गरिने अध्यक्ष इवारमले प्रष्ट पारे ।