धरान: धरानमा प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु भएको छ । 

धरानको वार्ड नं. २० मा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत छनौट भएका रोजगारदातालाई मेयर तिलक राई, उपमेयर मञ्जु भण्डारी, वडाध्यक्षहरु मणिराम राई र नेत्र प्रसाद काफ्ले सहितको टोलीले आवश्यक औजार तथा सामाग्रीहरु हस्तान्तरण गरेर कार्यक्रम सुरु गरिएको हो । प्राविधिक महेश नेपालीका अनुसार विपी पार्कदेखि चिण्डे डाँडा जाने २५ सय मिटर बाटो मर्मत गरिने भएको छ । 

खटिएका रोजगारदाताहरुलाई माटो फ्याल्ने ठेलागाडा २ थान, बेल्चा २ थान, सेफ्टी टोपी, एप्रोन, ग्लोब्स (हातमा लगाउने पञ्जा) र गम्बुट हस्तान्तरण गरिएको उनले जानकारी दिए । बाटो सोलिङ गर्ने, पहिरो नियन्त्रणका लागि ग्याविनको काम हुने पनि उनले बताए ।

मेयर तिलक राईले आफ्नो गाउँ, आफै बनाउ भन्ने उद्देश्य लिएर काम गर्न सुझाव दिए । गत वर्ष राम्रोसँग काम गर्न नसकेको उल्लेख गर्दै मेयर राईले ८० लाख रुपैयाँ आए पनि गत बर्ष राम्रो काम गर्न नसकेर ४० लाख रुपैयाँ मात्र आएको बताए । यसवर्ष राम्रो काम गर्न सकेमा सरकारले अर्को वर्ष राम्रो बजेट दिनसक्ने उनले बताए । गत वर्ष वार्ड नं. २० को भञ्ज्याङ जाने बाटो, वडा नं. १६ र वडा नं. १७ मा मात्र राम्रो काम भएको मेयर राईको भनाई थियो । मेयर राईले वडाध्यक्ष, प्राविधिकहरुसँग समन्वय गरेर काम गर्न आग्रह पनि गरे । 

वरिष्ठ प्रशासकिय अधिकृत गणेश प्रसाद खतिवडाले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत नेपाल सरकारले २ वर्ष अघि देखि नै आफ्नै ठाउँमा काम गर्न चाहने व्यक्तिहरुको लागि काम गरे वापत जिविकोपार्जन गर्नका लागि भनेर यो कार्यक्रम ल्याएको जानकारी दिए । उनले वडा नं. २० को बाटो मर्मत गर्नका लागि १० जनालाई छनौट गरिएको बताए । एक जना रोजगारदाता बराबर गत वर्ष ५ सय १७ रुपैयाँ पारिश्रमिक दिईएको थियो भने यसवर्ष एक जना रोजगारदाता बराबर ५ सय ७७ रुपैयाँ पारिश्रमिक दिईनेछ ।