धरान: उपभोक्ताहरुले स्वच्छ एवं गुणस्तरीय खाद्य वस्तु उपभोग गर्न पाउन् भन्ने उद्देश्यले धरानमा एक दिने खाद्य स्वच्छता तथा गुणस्तर अभिवृद्धि सम्बन्धी गोष्ठी भएको छ । 

 सुनसरी उद्योग वाणिज्य संघको आयोजनामा शुक्रबार गोष्ठी भएको हो । उक्त गोष्ठी कार्यक्रमका प्रमुख अतिथि धरानका मेयर तिलक राईले बजार अनुगमनका क्रममा व्यवसायीलाई कार्वाही भन्दा पहिले सचेत गराउनुपर्ने धारणा राखे । यसको लागि संघले सचेतना गोष्ठी आयोजना गरेकोमा उनले खुशी पनि व्यक्त गरे । धरानमा पाउने खानेकुरा गुणस्तरीय भएको सन्देश दिनुपर्ने पनि मेयर राईको भनाई थियो ।

गोष्ठीमा खाद्य व्यवसायी, डेरी व्यवसायी, होटल व्यवसायी, बेकरी उद्योगका व्यवसायी, डिपार्टमेन्ट स्टोरका प्रतिनिधि गरि करिब ४० जना सहभागी थिए । गोष्ठीमा खाद्य स्वच्छता के हो ? गुणस्तर के हो ? लेबलिङ्ग, प्याकेजिङ्ग के हो ? दण्ड जरिवानाबाट बच्न के के गर्नुपर्छ ? जस्ता विषयहरुलाई प्रष्ट पारिएको आयोजकले जनाएको छ । 

khadya1

गोष्ठीमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय इनरुवाका प्रमुख काशीनाथ घिमिरे र धरानका बजार अनुगमन अधिकृत वेदप्रसाद सापकोटा श्रोत व्यक्ति रहेका थिए । आयोजक संघका अध्यक्ष गिरिधारी सापकोटा अध्यक्ष रहेको कार्यक्रमको संयोजक संघका कार्यसमिति सदस्य तथा तालिम तथा गोष्ठी संयोजक विष्णु बरालको संयोजकत्वमा भएको थियो । गोष्ठीमा उपभोक्ता हित तथा संरक्षण मञ्चका अध्यक्ष कृष्ण ताम्राकारको समेत उपस्थिति रहेको थियो भने कार्यक्रम संचालक संघका महासचिव राजेश अग्रवालले गरेका थिए ।