धरान: इटहरी उपमहानगरपालिकाले खनार बजारमा अनुगमन गरेको छ ।

अनुगमनको क्रममा म्याद गुज्रेका सामानहरु भेटिएपछि अनुगमन टोलीले ती सामान नष्ट गरेको छ । अनुगमन टोलीले खनार बजारका १४ वटा खाद्यान्न तथा किराना पसलको अनुगमन गरेको थियो । उपमहानगरपालिका, जिल्ला प्रशासन कार्यालयको प्रतिनिधि, खाद्य प्रविधि तथा गुण नियन्यण कार्यालयका प्रतिनिधि, उपभोक्ता अधिकारवादी संस्थाका प्रतिनिधि र प्रहरीसहितको टोली अनुगमनमा निस्किएको हो ।

अनुगमनका क्रममा पाँच वटा पसलमा म्याद गुज्रिएका सामान वेच्न राखेको पाइएको थियो । एउटा पसलमा तीन वर्षअघि म्याद गुज्रिसकेको सामान समेत राखेको पाइएको टोलीले जनाएको छ । चाउमिन मसला, मन्थन गोल्ड सुजी, मुसुरो दाल, ज्वाँनो, पवित्रा मकै चामल, पूर्णिमा गरम मसला, सेन्चुरी मसला, मिट मसला, गोल्ड सेवाई, बजाज अल्मोण्ड तेल, अमृत कफि चकलेट र विकेएस मसला म्याद गुज्रिएको पाइएको थियो । 

itri1

यस्तै, पाँच वटा पसलमा मूल्य सूची नराखेको पनि पाइएको उपमहानगरले जनाएको छ । चार वटा पसल ब्यवसाय प्रमाणपत्र विना नै संचालन भएको पनि भेटिएको थियो भने दुईवटा पसलको नविकरण नभएको पाइएको छ । अनुगमन टोलीले ब्यवसाय प्रमाण पत्र लिन, पसल नविकरण गर्न र लेवल गरेर मात्र समान वेच्न निर्देशन दिइएको छ । पहिलो पटक भएकाले म्याद गुज्रिएका सामान नष्ट गरी त्यस्ता समान नवेच्न र छुटटै ठाँउ बनाएर राख्न निर्देशन दिइएको उपमहानगरको उपभोक्ता हित संरक्षण शाखा प्रमुख नोबल किशोर भटटराईले जानकारी दिए । अर्को पटक अनुगमनका क्रममा पनि म्याद गुज्रिएका समान वेच्न राखेको पाइए कानुन वमोजिम कारवाही हुने उनले बताए ।